आज जापानको अध्यमन बिभागबाट यस्तो पत्र आयो । पत्र हेर्दा एकै पटकमा हर्ष र विस्मातको अनुभव भयो । हर्ष यो कुरामा कि, बिदेशीप्रति पठाइएको यो पत्रमा अंग्रेजी, जापानी, कोरयाली, चीनिया, आदिको साथैमा नेपाली भाषामा पनि लेखिएको रहेछ । जसले जापानमा नेपालीहरूको व्यापक उपस्थितिको संकेत गर्छ, सायद । विस्मात यस मानेमा – त्यस पत्रको नेपालीको स्तर देख्ता लाज र हाँसो लागेर आयो ।

पत्र सायद कुनै नेपाली नागरिकले जापानी वा अंग्रेजीबाट नेपाली उल्था गरेको हुन सक्छ । अनुवाद गर्नेले चाहेरै हेलचक्र्याइँ गरेको भन्न सकिँदैन । हिजोआज औसत युवाहरूको नेपाली भाषा यस्तै देखिन्छ । हिज्जे भनौँ, भाषाशैली भनौँ, शब्दचयन भनौँ । हरेक पक्ष कमजोर छन् । कुरा यो चिठीलाई अनुवाद गर्ने व्यक्तिको भन्दा पनि हामी नेपालीहरूको भाषा-कमजोरीको हो । जब हामी आफैँले आफ्नो भाषामा दख्खल राख्न सक्तैनौँ, हामीले मानव-विकास र समाज-विकासमा अगाडि जान सक्ने सम्भावना छैन ।
हामी नेपालीहरूको आफ्नै भाषामा कमजोर रहेको तथ्यप्रति सबै सजग हुने बेला आएको छ, विशेष गरी अभिभावकहरूले ।