बलिको पूर्वसन्ध्यामा

“मलाई मेरो शरीर प्यारो छ,”Puppets
बलिको पूर्वसन्ध्यामाबिरंगना बर्बराइरहेछ,
“मलाई मेरो हात प्यारो छ
शीर पाउ यो साथ-साथ प्यारो छ
यो धरती आकाश प्यारो छ ।”

“नकाट, ए कसाइहरू हो
ए बालक अबुझ असत्तीहरू हो
त्यसैलाई सुलीमा चढाउँछौ,
जसले तिमी
एक-एकलाई धाराका धारा दिइरह्यो
प्रत्येकलाई ध्वनि दिइरह्यो
एक-एकलाई सुनको फुल दिइरह्यो ।”

“मलाई टाउको
मलाई छाती
मलाई सपेटा,”
बलिको पूर्वसन्ध्यामा
बुख्याँचाहरू बहस गरिरहेछन्,
वाद-प्रतिवाद, दाबी-बिरोध, प्रस्ताव-समर्थन गरिरहेछन्
कालरात्रीमै बिरंगनालाई भाग लगाइरहेछन् ।

उ-गाउँ र उ-गाउँदेखि पर उ-गाउँसम्म
राँके भूतका लस्करहरू घर जलाउँदै
एम्बुसमा पर्दै, एम्बुस थाप्दै
लड्दै लडाउँदै
बिजयीभाव अट्टाहसमा उन्मत्त लस्करमा आउँदैछन्
भयावह कालरात्रीलाई अरू भयावह बनाउँदैछन् ।

बुख्याँचाहरूको अगाडि रक्सीहरू छन्
बुख्याँचाहरूको अगाडि बोक्सीहरू छन्
बुख्याँचाहरूको अगाडि आफू जस्तै मदहोसीहरू छन् ।

बुख्याँचाहरू आ-आफू लड्दै लडाउँदै
बन्दुक र बारूद पड्काउँदै
आ-आफ्नै रगतको होली खेल्दै छन्
रक्सीको दुर्गन्धित फोहोरी होली खेल्दैछन्।

बुख्याँचाहरू मत्ता हात्तीहरू बटुल्दै
सत्ता हत्याउन खोजिरहेछन् ।
काला नेताहरू कालाहरूको काँधबाट कुर्लिरहेछन्,
सुकिला डिठ्ठाहरू सुकिलाहरूबिचबाटै सुर्किरहेछन्
पुड्का बडाहाकिमहरू पुड्काहरूको लर्को अगाडि प्रतिवाद गर्दैछन् ।

बुख्याँचाहरू एउटा कुरामा भने एकमत देखिन्छन्
ती
बिरंगनालाई बलि दिने कुरामा सहमत देखिन्छन् ।

केका आधारमा भाग लगाउने
कुनले सपेटा लिने, कुनले लपेटा दिने
कुनलाई हड्डी, कुनलाई मासु, कुनलाई रगत
तिनीहरू जवाफ-सवाल गरिरहेछन्
हात हालाहाल गरिरहेछन् ।

रक्सीले टिल्ल बुँख्याचाहरू
नोट-नोट र बोत्तल-बोत्तलका भाउमा छन्
बिरंगनाको शरीरबाट सुनको फुल सबै निकाल्ने दाउमा छन् ।

“यी बुख्याँचाहरू कसरी सकिएलान्,”
बलिको पूर्वसन्ध्यामा
ब्वाँसाहरू बक्बकाइरहेछन्,
“त्यो आलो शरीर कसरी फुत्कान सकिएला?”
ब्वाँसाहरू दाउ खोजिरहेछन् ।

ब्वाँसाहरू उसो त साथी-साथी पनि होइनन्
ती बिरंगनालाई भाग लगाउने बिचारमा पनि छैनन्
तिनीहरूलाई पहिले बुँख्याचाहरूलाई लडाउनु छ
भाइहरू फुटाएर ग्वाँर लुटाउनु छ ।

ब्वाँसाहरू बुख्याँचाहरूलाई चिया र सिया पिलाइरहेछन्
एउटासँग अर्को लडाइरहेछन्
छिर्के हान्न र मिर्के तान्न सिकाइरहेछन् ।

बुख्याँचाहरू आ-आफ्ना ब्वाँसाहरूलाई खुसी पार्न
एक अर्कालाई काटिरहेछन्
एक अर्कालाई जलाइरहेछन्
कालो र हिलो छेपिरहेछन् ।

बलिको पूर्वसन्ध्यामा
सुलीमा चढ्न पर्ने बिरंगना उकुसमुकस् गुम्सिरहेछ
धूरीमा चढ्न खोज्ने बुख्याँचाहरू दाउ खोजिरहेछन्
चूलीमा चढ्न सक्ने ब्वाँसाहरू बुख्याँचामाथि च्याँखे थापिरहेछन्
यो भयावह कालरात्री
आ-आफ्नै हाइ-हाइ र त्राही-त्राहीमा बिताइरहेछन्,
बलिको पूर्वसन्ध्यामा ।

इति सम्वत २०७० साल मंसीर ३ गते रोज २ शुभम् ।

Arresting God in Kathmandu

ArrestingGodinKathmanduThis is an amazing collection of short stories.

Samrat Upadhyay takes readers from the lower middle-class struggling to survive in Kathmandu’s deras to the reigning class’s lavish lifestyles. Stories are sometimes spiced with plots in the United States and India too.

The protagonists in each story have their own everyday problems to solve. Most of them have inferiority complex. They are, at the same time, disturbed with premarital and extramarital affairs.

I expected this book to be full of social miseries of struggling Nepalese middle class. That is well received. Upadhyay defies our expectations – he goes one step further by portraying human sexual desire in the backdrop of adversaries facing the characters’ lives.

Samrat Upadhyay’s stories are reminiscent of BP Koirala’s Nepali short stories – very powerful and full of colorful characters.

The book is sure to entertain and enlighten you.

Four stars out of five.


#TweetKavita कविता सम्मेलन

आज अलि नौलो कविता कार्यक्रममा सहभागी भइयो । कार्यक्रम यो अर्थमा पृथक थियो कि – म घरबाटै सहभागी भएको थिएँ । Cafe Kavita (@CafeKavita) र जोतारे धाइबा (@dhaiba) ले आयोजना गर्नुभएको ट्विटर कविता सम्मेलनमा दुई चार लाइन लेखियो । सम्मेलनमा सहभागी हुन ह्यासट्याग #TweetKavita प्रयोग गर्नुपर्ने थियो ।

ट्विटरमा लेख्नु पर्ने भएकोले ह्यासट्यागसहित १४० अक्षरभित्र लेख्न पर्ने थियो र त्यो आफैंमा रमाइलो थियो ।

मेरा कविताहरू तल छन् ।

 

 

सम्मेलनका अन्य कविताहरू यहाँ हेर्न सकिन्छ

ईतिहासले सम्झन बिर्सेको योद्धा – योगमाया न्यौपाने

भर्खर मात्रै मैले नेपाली ईतिहासमा नपढाइएको व्यक्ति योगमाया न्यौपाने र च्याप्टरको बारेमा पढ्न पाइयो । हुन त केही वर्ष पहिले उनको बारेमा पुस्तक र डकुमेन्ट्री पनि निस्केको रहेछ, तर पढिएको थिएन ।

जन्म – विक्रम संवत् १९२३, नेपाले डाँडा, भोजपुर
मृत्यु – विक्रम संवत् १९९८ असार ३१ गते शनिबार

उबेलाको राणाकालमा त्यत्तिको साहसी र विद्वान व्यक्ति रहेछ, हाम्रो ईतिहासले केही बोल्ने प्रयास गरेन । ईतिहास लेख्ने जित्नेहरूले हो । र उनले सुरू गरेको जनचेतना र कार्यकर्ताहरू अरुण नदीसँगै बिलाएपछि त्यो सन्देश बोक्ने कोही भएन । भर्खरै मात्र उनको बारेमा मूल्यांकन हुन थालेको रहेछ । पढ्न योग्य सामग्रीहरू तल छ ।

सन्दर्भ सामग्री

माधव ढुंगेलको samachardaily.com मा राखिएको पठनीय लेख हराउन लागेको अवस्थामा रहेछ । त्यसैले यहाँ समावेश छ ।

योगमायाको विद्रोह र सिनेमाको कथा – माधव ढुंगेल

पत्याउनै पनि अप्ठ्यारो लाग्ने इतिहास हामीसँग रहेछ । एउटी महिलाको नेतृत्वमा ६८ जना समाजसँग विद्रोह गरेर अरुण नदीमा फाल हालेर मरे । सरकारले उनीहरूलाई पागल भन्यो । फेरि पनि एउटा गजबको प्रश्न छ, पागलहरू ६८ जना भेला हुन्छन् नै कसरी ? फेरि मर्ने सल्लाह कसरी गर्छन् र खोलामा फाल हालेर किन मर्छन् ? डेढ सय वर्ष अगाडि एउटी बालिकाको जन्म हुन्छ, भोजपुरको मजुवा गाउँमा, न्यौपाने परिवारमा । नाम राखिन्छ योगमाया । योगमाया न्यौपाने सात वर्षकी छँदा रामहरि कोइरालासँग बिहे हुन्छ । दुई वर्षपछि रामहरि मर्छन् । नौ वर्षकी हुँदा योगमाया विधवा हुन्छिन् । सासू-ससुराले पोइटोकुवी भन्छन्, हेला गर्छन् । नौ-दश वर्षकी छँदा दिनभरी वनमा बाख्रा चराउँछिन् र रातपरेपछि जुठाभाँडा माझिसकेर बाख्रासँगै खोरमा सुत्न जान्छिन् । मान्छेहरूबाट हेपिएपछि बाख्रा नै उनका साथी हुन्छन् । जुठाभाँडा र कामहरू उनका आफन्त हुन्छन् । उमेर कच्चा भए पनि उनी घरकी बुहारी हुन्, त्यसमाथि पनि पोइ मरेकी बुहारी । यातना उनले धेरै पाउँछिन् । बाख्राको खोरमा र पिंढीमा सुत्नुपर्ने त छँदैछ, कहिलेकाहीं भोकै सुत्नुपर्छ । काम गर्दा गल्ती भयो भने उनले पाउने सजाय पनि अमानवीय छ । अगेनामा मकैका खोया थुपारेर उनलाई भित्र राखिन्छ र आगो सल्काएर ढोका थुनिन्छ । धुवाँमा निस्सासिएर उनी बस्नुपर्छ तर मर्दिनन् ।

यातना सहन नसकेर किशोरी योगमाया घरबाट भाग्छिन् । माइत जाने बाटो नदेखेर रातभरि उनी वनमै बस्छिन् । घरको यातनाभन्दा जंगलको डर उनलाई सजिलो लाग्छ, फर्केर घर जान्नन् । जंगलमा दुई रात हराएपछि तेस्रो दिन योगमाया माइत पुग्छिन् । त्यहाँ पनि उनको स्वागत हुँदैन । माइतीलाई छोरीको घर बिग्रेला भन्ने चिन्ता हुन्छ । उनीहरू योगमायालाई घर पठाउन चाहन्छन् । उता घरबाट योगमायालाई नस्वीकार्ने सन्देश आउँछ । सन्देशमा भनिएको हुन्छ, ‘दुई-दुई रात जंगलमा हराएकीलाई बुहारी मान्न तयार छैनौं । कोसँग हराएकी हो उसैसँग जाओस् ।’ योगमायालाई तिरस्कार गरिन्छ । घरको अपमान र माइतीको हेला सहेर पनि योगमाया बाँच्छिन्, मर्दिनन् । बालविधवा हुनुको जे सजाय पाउनु पर्ने थियो, त्यो पाउँछिन् र हरेक ढंगले एक्लो बाँच्छिन् । मुहारकी राम्री र व्यवहारले खारिएकी हुँदा गाउँमा पछि लाग्ने केटाहरू भने नभएका होइनन् । वनजंगल र घाँस दाउरा गर्दै केही वर्ष बित्छ १७ वर्षकी भएपछि गाउँकै प्रजापति डोट्यालसँग आसाम पुग्छिन् । आसाममा उनकी छोरी जन्मिन्छन्, नाम राखिन्छ, नैनकला । गाई पालेर, मजदुरी गरेर घरगृहस्थी राम्रै चल्छ । गाउँमा पुराण लागेको हुन्छ । योगमाया दम्पति पुराण सुन्न जान्छन् । छोरी पनि साथमा हुन्छे । पण्डितको मुखबाट उनले सुन्छिन्, ‘परपुरुषसँग लागेकी महिला रौरव नर्कमा पर्छे, पुरुष भए पनि नर्कमा पर्छ ।’ यो सुनेर योगमाया दम्पतिलाई चिन्ता लाग्छ । उनीहरूले उपाय खोज्छन् । पण्डितले उपाय सुल्झाउँछन्, ‘प्रायश्चित्त ।’

साँझ योगमाया दम्पत्ति अँध्यारो मुख लाएर घर फर्किन्छन् । निदायो कि भनेर यसो हेर्‍यो पति पनि निदाउन सकेका छैनन् । रातभरि उनीहरू छटपटिन्छन्, कसरी छोड्नुहोला यस्तो जोडी ? फेरि नरकको डर पनि त कम्ती छैन । कसैसँग सल्लाह लिऊँ भने यस गाउँमा पनि हेपिनु पर्ने उपेक्षित हुनु पर्ने हुन्छ । अन्ततः आँखाभरि आँसु पारेर लोग्नेस्वास्नी निर्णय गर्छन्, ‘प्रायश्चित्त हामीले गर्नैपर्छ । यो जुनी त यस्तै भयो, ऊ जुनी हामीले सपार्नै पर्छ । रौरव नर्कको यातनाभन्दा बरु हामी बेग्लै बसौं, प्रायश्चित्त गरौं ।’ छुट्टिने कुराले दुवैलाई पीडा दिन्छ । रुन्छन् र पनि छुट्टिन्छन् । छोरी लिएर योगमाया नेपाल फर्किन्छिन् । पति भने आसाममै बस्छन् । माइतमा उनलाई स्वीकार गरिन्नँ । बाबुआमाले भित्र छिर्न दिंदैनन् । भाउजू गंगाले उनलाई आफ्नोमा लान्छिन् । दाजुभाउजूकोमा बसेर काम गर्छिन्, छोरी हुर्काउँछिन् र गम्भीर क्षणहरू बिताउन एकान्तमा जान्छिन् ।

एकदिन उनको कानमा पर्छ, नैनकलाका बाबु पनि आसाममै मरे । मरे, असाध्यै दुःखको कुरो । योगमायाको मन एकतमासको हुन थाल्छ । उनी जीवनका बारेमा सोच्न थाल्छिन् । धर्म, इश्वर, पाप, पुण्य, सन्यास, योग यी विभिन्न विषयमा बुझ्न थाल्छिन् । मानव जीवनका दुःखहरूलाई जान्न चाहन्छिन् । अनुभवले जे सिकायो त्यही बोल्छिन्, गहिरा असन्तोषका आवाज सुसेल्छिन् । उनको सुसेली नै एउटा शक्ति बन्छ । अक्षर चिन्न नसके पनि उनी कविताहरू जन्माउन थाल्छिन् । एकदिन योगमायाले तीर्थयात्रीको लर्को देख्छिन्, स्वर्गद्वारी जानका लागि हिंडेको देख्छिन् । चुपचाप पछि लागेर, छोरी र दाजुभाउजू छोडेर योगमाया चैतन्य महाप्रभु अभयानन्द द्वितीयकहाँ पुग्छिन् । स्वर्गद्वारीमा एकखालको दीक्षित भएर योगमाया फेरि गाउँ फर्किन्छिन् । गाउँमा भोकमरी हुन्छ । धनीमानी बस्नेतहरूले अन्न थुपारेका छन् र महँगोमा गाउँलेलाई बेचिरहेछन् । खोलापारि अर्को गाउँमा सस्तो अन्न लिन जाने गरिब गाउँलेहरूलाई बस्नेतहरूले टिक्न दिंदैनन् । खोलाको साँघु भत्काइदिन्छन् र गाउँलेमाथि शोषण गर्छन् ।

योगमाया धुनी बालेर बस्छिन्, रुद्राक्षको माला लाउँछिन्, बिगुतको तीनधर्के टीका लाउँछिन्, कपाल नकोरी झाँक्रो फिँजाएर आसनमा बस्छिन् । उनको छेउमा पाँच-छ फिट उचाइको त्रिशूल ठडाइएको हुन्छ । त्यहीं बसेर उनी आँखा चिम्लेर धारा प्रवाह प्रवचन दिन्छिन् । सामाजिक अन्यायको विरोध गर्छिन् र गरिब, पीडित गाउँलेहरूलाई साथ लिन्छिन् । त्यसका लागि उनले धर्मको साहरा लिन्छिन् किनभने गाउँलेहरूले बुझ्ने र आकषिर्त हुने कुरा त्यही हो । योगमायाले आफ्ना भक्त वा अनुयायीहरूलाई जातपात नमान्न निर्देशन दिन्छिन्, सतीप्रथा र छुवाछूतको विरोध गर्छिन् । उनको समाजमा दतिल र बाहुन एकै हुन्छन्, साहू र पण्डितहरूको विरोध हुन्छ । यसबाट गाउँ भाँडेको, परम्परा मिचेको, अनाचार गरेको र समाजमा विकृति फैलाएको निहुँ निकालेर सामन्तहरूले उनलाई लखेट्न खोज्छन् । पण्डितहरूसँग योगमायाको युद्ध चल्छ, पुराण लगाएको ठाउँमा मारपिट चल्छ र धेरै गाउँलेहरू घाइते हुन्छन् । अन्ततः योगमायाको जित हुन्छ । अब योगमायालाई दबाउनका लागि भोजपुर र धनकुटाका समेत सामन्तहरू सरकारी सुरक्षाको भर पर्छन् । गाउँका बस्नेतहरू भने योगमायासँग मिल्न बाध्य हुन्छन् । लडाइँको क्षेत्र फराकिलो हुन्छ र योगमायाको चर्चा पनि फराकिलो हुन्छ ।

योगमायाले मानवताका पक्षमा शासन गर्न र भइरहेको बेथिति सुधार्नका लागि राजा त्रिभुवनलाई पत्र लेख्छिन् तर त्यो राजाकहाँ पुग्दैन । जुद्धशमशेरले बीचैमा रोक्छन् र योगमायाका कुरा सुन्छन् । उनले राजपण्डितहरूको सभा बोलाएर एउटा शास्त्रार्थ नै चलाउँछन् जसमा पण्डितहरू हार्छन् र योगमायाले जित्छिन् । अब शासकदेखि लिएर ठूला पण्डितहरू उनका विरोधी हुन्छन् । जुद्धशमशेरले माग पूरा हुने आश्वासन दिएर योगमायालाई मोहन शमशेरलगायतका भतिजाहरू साथ लाएर फकाइफुल्याई गाउँ फर्काउँछन् । उनी गाउँ त फर्किन्छिन् तर माग पूरा हुँदैन बरु राज्यपक्षबाट बारम्बार अप्ठ्याराहरू आइपर्छन् । यो सरकार र राज्यले आफ्ना कुराहरू नसुन्ने, यस्तो व्यवस्थामा सामाजिक न्याय नपाइने पक्का भएपछि योगमायाले एउटा भव्य यज्ञ गर्ने योजना बनाउँछिन् र राज्य र सरकारको विरोध गर्दै त्यस महायज्ञमा आफूले अग्नि समाधि लिने घोषणा गर्छिन् ।

यो घोषणाले तत्कालीन राणासरकारलाई ठूलो चुनौति सिर्जना गर्छ । भोजपुरबाट धनकुटा हुँदै तत्काल यो खबर काठमाडौं पुग्छ । धार्मिक प्रवृत्तिका राणाहरू यस खबरले आत्तिन्छन् । जसरी उनीहरू ब्राह्मण, सन्यासी आदिको हत्यालाई ठूलो अपराध मान्थे, ठीक त्यसैगरी योगमाया नामकी बाहुनी जोगिनीको हत्याको पाप बोक्न पनि चाहँदैनथे । योगमायाका साथ लागेर २ सय ४० जना भक्तहरू अग्निसमाधि लिंदैछन् भन्ने खबर सुन्नेबित्तिकै केन्द्रको निर्देशनमा धनकुटाबाट माधव शमशेर आवश्यक सेनासहित यज्ञस्थल पुग्छन् र यज्ञ भाँडेर मानिसहरूलाई अग्निसमाधिबाट रोक्छन् । योगमायासहित धेरै भक्तहरू भोजपुर र धनकुटाका जेलमा पर्छन् । केन्द्रको आदेशले महिलाहरूलाई तीनमहिनामा छोडिन्छ र पुरुषहरूलाई अनुकूलता हेरी क्रमशः जेल मुक्त गरिन्छ । जेल मुक्त गर्दा उनीहरूलाई एउटा कागजमा सही जराइन्छ जसमा लेखिएको हुन्छ, ‘अब हामी मर्ने छैनौं, केही गरी मर्‍यौं भने कानुनअनुसार सहुँला, बेहोरुँला ।’

यस्तो उल्लु कागज गराएर छोडिएका मान्छेमध्ये ६८ जनाले वि.सं. १९९८ आसार शुक्ल एकादशीका दिन अरुण नदीको उर्लंदो भेलमा फाल हालेर जलसमाधि लिन्छन् । आफ्ना जहान छोराछोरी पनि फाल हानेर मर्लान् भन्ने डरले कतिले घरका झ्यालढोका लगाएर मानिसलाई थुन्छन् र जोगाउँछन् । यसरी तत्कालीन सरकार फेरि एकचोटि असफल हुन्छ । नेपालको इतिहासबाट लामो समय हराएको यो घटना अहिले फेरि ब्युँतिएको छ र यसले राष्ट्रियस्तरमा चर्चा पाइरहेको छ । इतिहासमा बिरलै देखिने यस किसिमको विद्रोह संसारकै एउटा महत्त्वपूर्ण विद्रोह हो । यसले नेपालको बलिदानी इतिहासलाई गौरवशाली तुल्याएको छ । सिनेमाको कथा झैं लाग्ने यो सामाजिक विद्रोहको घटनाबाट निर्देशकहरूले मौलिक नेपाली चलचित्र निर्माण गर्न सक्छन् र कसैले यो आँट गर्नु जरुरी पनि छ ।

(फोटो सौजन्यः नइ प्रकाशन)

Nepali Novel “Radha” (राधा)

Some five years back, I had written a brief criticism about Radha (राधा), a popular Nepali novel written by Krishna Dharabasi. Here is an excerpt. In case you are planning to read the book, you might want to go through it.

The author rose to fame after this book received the prestigious Madan Prize for 2062 BS (2005 AD).

The novel is about Radha, the famous lady character from Mahabharat. All we know about her is that she was the childhood sweetheart of Krishna (not to be confused with the the author’s name). Although she is mentioned alongside Krishna in many religious texts, very few (none, in fact) is written about her adulthood. Dharabasi presents an imaginary story of her life during her romance with Krishna during younger days and after their (probable) separation.

Throughout the novel, Radha is presented as a heroine full of colorful characters.

The writer describes the events of Mahabharat in a realistic approach, which otherwise are narrated in fantasy-filled, omnipotent, and preternatural ways in other books and movies.

I found this book on the whole feminist. It has all the support for Radha and other girls Krishna has seduced. Krishna is criticized and booed many times for his stubbornness and for the Casanova that he is. The book, on the whole, sends a positive message to the modern society and is sympathetic women.

Dharabasi’s writing approach in writing is worth praising. He has dared to humanize the characters of Mahabharat, be it Krishna or Radha or Balaram or even Kansha. Throughout the book, there are several smiling-moments in praise for the author.

However, the standard of the language is comparatively poor for a writer of his like. There are many grammatically unsound sentences. It also lacks uniformity in narration. At one instant, the author describes each and every conversation and suddenly he skips many events in just a matter of sentences. This gives the impression that this book was brought to publication in haste, without a proper proofreading.

The edition I read was 261 page long. If reviewed strictly, it could have been shortened to well less than 200 pages. Maybe I am exaggerating, but you are sure to find the book verbose. The same sentiment is repeated in different places. Mainly, it is about the same argument on feminism that the readers are burdened with reading again and over again. Also, he uses the same/similar sentences to lambaste Krishna for his profligacy.

I read this book as fiction. However, a sage is introduced as Aswasthama, the immortal son of Drona, who has lived through these 5,000 years. While this adds some romance and imagination to the story, the author loses credibility for all his effort in portraying Mahabharat characters and events in a realistic manner.

Many critics enjoy comparing it with Madhavi, another Madan Prize winning novel, which is written by Madan Mani Dixit. This comparison is usually made with the fact that both books are based on pre-historic stories and both are milestones in Nepali literature. But oops, if Madhavi is Mt Everest, Radha no taller than Swayambhu ko dada.

A nice read though.

अश्वमेध यज्ञका घोडाहरू : ख)

अश्वमेध यज्ञका घोडाहरूको देश्रो भाग : ) समयविरुद्धको युद्ध र अश्वमेध यज्ञका घोडाहरू पढिभ्याएँ ।

पहिलो भागभन्दा यो भाग अलि खारिएको र पाठकको लागि अलि सहज जस्तो लाग्यो । पहिलो भागमा कविताको बनोट र विषयबस्तु एक तमासले बगिरहँदा बिचबिचमा पट्यार लाग्ने स्थिति आएको थियो भने यो भागमा केही हदसम्म त्यो निकै कम छ । यहाँ कविले बिभिन्न कोणबाट समय, मानवता, र समाजमाथिका भावनाहरू व्यक्त गरेका छन्, जुन म तल संक्षेपमा उल्लेख गर्नेछु ।

कवि दुबसुले शुरुमै ‘समयलाई एउटा पत्र’ कवितामा मानवजाति अहिलेसम्मको असमान इतिहासमाथि व्यंग्य प्रहार गरी, त्यसको विरुद्ध आफू (२१औँ शताब्दीको मान्छे) उर्लेको घोषणा गरेका छन् ।


एकलव्यका इच्छाहरू यहाँ सधैँ
खण्डित भएका छन्
द्रोणाचार्यहरू सधैँ सत्ताका छेउमा
उभिइरहेका छन्

इतिहास अब एक पटक फेरि च्यातिनुपर्छ
मेटिनुपर्छ र फेरि लेखिनुपर्छ
….
इतिहास ! सावधान !
समय ! सावधान !
….
दुबसु विद्रोह भएर आउँदैछ
….
दुबसु आँधी भएर आउँदैछ ।
(समयलाई एउटा पत्र)

यस भागको बाँकी पृष्ठहरू यिनै असमानताहरूको चिरोफरले भरिएका छन् । भन्नुपर्दा यस भागका प्राय जसा: पंक्तिहरू मानव समाज र इतिहासको नकारात्मक पक्षहरू देखाउँदैमा बितेका छन् । बिच-बिचमा र उपसंहारमा भविष्यतिरको आशा र अनुभूतिहरू प्रकट गरिएको छ, जसलाई सकारात्मक रुपमा लिनुपर्छ ।

आस्था र मानवता
यस भागमा मैले कविका यी हरफबाट निकै आशा गरेँ ।

हामीले आफ्नो घरमा टुकी नबाली
ईश्वरका पाउमा दियो कहिल्यै जलाएनौँ
त्यसैले सृष्टिको आरम्भमा,
ईश्वर होइन
हामी आएका हौँ
ईश्वरले हामीलाई होइन
हामीले ईश्वरलाई बनाएका हौँ
जब हामीले आ-आफ्नो घर बनायौँ
त्यसपछि ईश्वरका लागि
तिमीले मन्दिर बनायौ
मैले मस्जिद बनाएँ
उसले गुम्बा बनायो
अर्कोले गिर्जाघर बनायो
… (दुबसु क्षेत्रीसँग)

यी हरफ पढ्नासाथ मैले आशा गरेको थिएँ, नास्तिकताको । मैले थाहा पाएसम्म ईश्वरको अस्तित्वलाई पूर्ण रुपमा नकारेर उर्लिएको नेपाली स्थापित लेखक कोही छैन । यस मानेमा नेपाली पाठकहरूको नास्तिक धारको प्रतिनिधित्व दुबसुले गर्न सक्थे । हुन त यो कवितासंग्रहले ईश्वरको अस्तित्वलाई बढाउन खोजेको नभई मानवता र समानताको पक्षमा वकालत गरेको पाइन्छ । तैपनि, नास्तिकताको एउटा स्पष्ट धारको शुरुवात यो पुस्तकले गर्न सक्थ्यो । अनि, यस भागमा कविले अस्वभाविक रुपमा रोबोटलाई कवितामा ल्याएर र उसलाई मान्छेको शत्रुको रुपमा विम्वित गरेर विज्ञानप्रेमीहरूलाई र युवापिढीलाई निराश पारेका छन् ।

एक्काइसौँ शताब्दीका गीत र महाभारतका पात्रहरू
लामा कविताहरू एक्काइसौँ शताब्दीका गीत -१ र २ ले यो भागको प्रतिनिधित्व गरेका छन् । पहिलो गीतमा उनीले बितेको शताब्दीको अमानवतालाई छोडेर २१ औं शताब्दीको समयसापेक्ष समाज बनाउने सन्देश दिन खोजेका छन् । तर समकालीन लेखक-कविहरूलाई एकपछि अर्को परिचय गराएका छन् । तर पढ्दै गएपछि केही हदसम्म पट्ट्यार पनि लाग्छन् । दोश्रो गीतमा महाभारतका पात्रहरू – धृतराष्ट्र, पाण्डु, दुर्योधन, कृष्ण, व्यास, कुन्ती, गान्धारी, दुशासन, आदि महाभारतका सशक्त पात्रहरूलाई प्रतिकात्मक रूपमा उभ्याएर मानव समाजका लोभ, चाकडी, चतुरता, आदिमाथि प्रकाश पारेका छन् । यो कविको खुबी मान्नुपर्छ कि उनले महाभारतकै पात्रहरू नै रोजेका छन्, किनभने महाभारत नै एक मात्र त्यस्तो ग्रन्थ छ जहाँ मानवचरित्रका हरेक पक्षहरू देखाउन सकिन्छ । तर एक्कासि जिसस र जुडासको प्रवेशले प्रसंग अलि अस्वभाविक बनेको छ । कविताका उही टुक्राहरू हरेक पात्रहरूको परिचयसँगै दोहोर्याई-तेहर्याई पढ्नु पर्दा हरफहरू कलात्मक हुनुको सट्टा पाठकलाई पट्यार लाग्न सक्छ ।

छिरफुट कविताहरू
यस भागका छिरफुट कविताहरू नै ती अंश हुन् जहाँ कवि दुबसु सबभन्दा दह्रो र सशक्त भएर निस्किएका छन् । यी कविताहरूमा कवि पुस्तकको मूख्य विषयवस्तुबाट केही दूरी राखेर बहकिन पाएका छन् । माथि भनिए झैँ, ‘समयलाई एउटा पत्र’मा कवि ईतिहास र समयप्रति बिद्रोही भएर निस्केको घोषणा गर्छन् । त्यसपछिका ‘अग्नि-स्नान’, ‘सूर्य-स्नान’, र ‘मन-स्नान’मा असमान ईतिहासको बिरुद्धको यात्राको पूर्वाभ्यास वा तैयारी गरेको भाव प्रकट छ । ‘आँखालाई गीतको मीठो भाखा’ले कुनै पात्र (जहाँसम्म त्यो पात्र कवि स्वयं हुनुपर्छ)को व्यक्तिगत जीवनको सुस्केराहरू छन् । अनि आफ्नो युवावस्थाको सपना र अहिलेको यथार्थको चित्रण छ । र, त्यो सपना र यथार्थबिचको फरकप्रतिको असन्तुष्टि र गुनासाहरू छन्, जुन निकै हदसम्म मार्मिक छन् । ‘दुबसु क्षेत्रीसँग’मा माथि उल्लेख गरेझैँ धर्म-धर्म र मान्छे-मान्छे बिचको भित्ताहरू र पर्खालहरूको चित्रण गरिएको छ । यस कवितामा धर्मको र रोबोटको बिरुद्धमा, र मानवताको पक्षधारमा वकालत गरिएको छ । समग्रमा भन्नुपर्दा कविको खास अन्तरात्माको सन्देश यी कविताहरूमा पाइन्छ ।

उपसंहार
यो उप-भाग समयविरुद्ध उभिएका अश्वमेध यज्ञका घोडाहरू निकै सशक्त छ, यो मानेमा कि, यो मात्र एकदम सकारात्मक पक्षहरू चित्रण गरिएको पद्यांशा हो । समस्याहरू मात्र नभई समाधानका कुराहरू पढ्न पाइन्छ । उपकविता ‘कालो समय’‘कालो ईतिहास’ त छन् नै, तर त्यससँगै छ उपकविता ‘भविष्यतिर’‘उपसंहार’ जहाँ यस्ता सकारात्मक सन्देशहरू पाइन्छ ।

एक्काइसौँ शताब्दीको मान्छे
रातो नदीमा नुहाउन चाहँदैन
रगतमा पौडी खेल्न चाहँदैन
एक्काइसौँ शताब्दीको मान्छे
कालो नदीमा पस्न चाहँदैन
फोहरमा डुब्न चाहँदैन
एक्काइसौँ शताब्दीको मान्छे
अँध्यारामा हाँस्न चाहँदैन
साँघुरामा बाँच्न चाहँदैन,
…..
एक्काइसौँ शताब्दीको मान्छे
वर्तमानमा बाँचेको छ
एक्काइसौँ शताब्दीको मान्छे
भविष्यतिर फर्केको छ,
…..

(उपकविता-३: भविष्यतिर)

एक्काइसौँ शताब्दीको मान्छे
मान्छे बाँच्न चाहन्छ
मात्र मान्छे बाँच्न चाहन्छ
मान्छेको बस्तीमा मान्छेहरूसँग मिलेर
मान्छेको अनन्त जित मनाउन चाहन्छ
मान्छेको शाश्वत गीत गाउन चाहन्छ,
…..(उपसंहार)

समय-असमय

समयलाई थेग्न सकिएन
यसलाई लगाम लगाउन सक्ने
सारथीहरूको खोजी भइरहेछ ।

एउटा समय थियो
जहाँ समय थिएन, अर्थात् असमय थियो,
समयका पारखीहरूले रगत-पसिनासँग खेलेर
समय आयात गरे;
आज तिनै पारखीहरूमाथि पोखिएर
पशुत्व र पापको दहमा पौडिँदै छ समय,
आफ्नै पालक-पोषकको छाला काढेर
सर्वलुट, सर्वनाश, सर्व-उपेक्षाको सिँढी चढी
सर्वेसर्वा, सर्वाधिकारी, सर्वशक्तिमान भएको छ समय,
सर्वत्र छ समय,
सर्वव्यापी छ समय ।

समयको निरंकुशतालाई निराकार गर्नसक्ने
निमुखा, निरक्षर, निरपराधहरूलाई नियाँ गर्नसक्ने
निरञ्जनहरूको खोजी भइरहेछ ।

समयको जन्ती जानेहरूले
उसलाई घरभित्र भित्र्याउनुपर्थ्यो
घर-घाटसँग घनिष्ट बनाउनुपर्थ्यो
टोल-छिमेकमै टिकाउनुपर्थ्यो;
उसलाई त दरबारको दिवारभित्र लुकाई राखियो
बाघ र सिंहको चिडियाघरमा कैद गरियो ।

दरबारको बिलासी र उच्छृंखलतमा हुर्केर समय
कालो र कठोर बनेको छ,
पतित पातकी बनेको छ,
लुच्चो र लोदर बनेको छ ।

समयको रहस्य बुझ्न खोज्दैमा एउटा युग बित्यो,
र पनि यहाँ अँझै भीड छ
समयलाई हेर्न चाहनेहरूको भीड छ
समयलाई छुन चाहनेहरूको भीड छ
समयको चाकडी गर्न चाहनेहरूको भीड छ
समयको यौवन चाख्न चाहनेहरूको भीड छ
समयलाई हरण गर्न चाहनेहरूको भीड छ ।

समय महलको कोठीबाटै शासन गरिरहेछ,
क्लियोपेट्रा जस्तै कामूक र क्रुद्ध;
मतौरेहरूलाई यौवन लुटाई
आफू लोक लुटिरहेछ ।

समयलाई शिष्ट, समतामयी, र सावित्री बनाउन सक्ने
एउटा एन्टोनीको खोजी भइरहेछ ।

समयलाई समयमै समयसापेक्ष बनाउन सक्ने
समयनिष्ठ समकक्षीहरूको खोजी भइरहेछ
समवादी र शान्तिवादीहरूको खोजी भइरहेछ
समन्वयकारीहरूको खोजी भइरहेछ ।

अश्वमेध यज्ञका घोडाहरू : क)

अश्वमेध यज्ञका घोडाहरू भाग (क) – युद्धविरूद्धको युद्ध र अश्वमेध यज्ञका घोडाहरू

साहित्यकार दुबसु (दुर्गाबहादुर सुवेदी) क्षेत्रीको साझा पुरस्कार प्राप्त कविता-संग्रह अश्वमेध यज्ञका घोडाहरू हातमा छ । लेखक २००७ देखि २०११सम्म जापान अवस्थित नेपाली दूतावासको उप-नियोगप्रमूख थिए । त्यस बेला प्रतक्ष्य रुपमा लेखक र पुस्तकको बारेमा बुझ्ने मौका मिलेको थियो । हुन त यो पुस्तक लेखक स्वयंबाट पाउने योजना थियो । तर एक-अर्काको कार्यव्यस्तताले गर्दा त्यो सफल हुन सकेन । पढ्ने मौका मिलाइदिनुभयो मित्र आलोक चालिसेले ।

नढाँटिकन भन्नु पर्दा – अन्य विधाको तुलनामा कविताहरू म त्यति बुज्छु जस्तो लाग्दैन, एक-दुई मिनेटमे लेखिने ‘सतही’ कविताबाहेक । तर ‘अश्वमेध यज्ञका घोडाहरू’ भने जापानको साहित्यिक सर्कलमा नजिकैबाट हेरिएको कृति भएकोले पढ्ने ईच्छा जागेर आयो ।

‘अश्वमेध यज्ञका घोडाहरू’ पुस्तकलाई (क)देखि (ट) भागसम्म बिभाजित गरिएको छ र प्रत्येक भागमा उप-कविताहरू समावेश गरिएको छ । भर्खर भाग-(क) मात्र पढिभ्याएकोले आज यस भागको समीक्षा प्रस्तुत गर्दैछु ।

यस भागमा तेस्रो आँखा १-४, चौथो आँखा १-४, र ‘युद्धविरुद्ध उभिएका अश्वमेध यज्ञका घोडाहरू’ गरेर नौ कविताहरू समाविष्ट छन् । यस भागका कविताहरूमा मानव इतिहास र संस्कारमाथिको व्यंग्य र खिन्नताले भरिपूर्ण छ । कविले धर्म, जाति, र देशको नाममा गरिएका हरेक किसिमका युद्ध र दमनहरूमाथि प्रहार गरेका छन् । इतिहासले नायक र खलनायक भनेर छुट्याएका हरेक पात्रहरू यी प्रहारका शिकार बनेका छन् – राम, कृष्ण, युधिष्ठिर, दूर्योधनदेखि हिटलर अनि आधुनिक युगका शासकहरू । एउटा उदाहरण:

धर्तीमा कुरुक्षेत्र नै कुरुक्षेत्र छ अचेल
धर्तीमा कुरुक्षेत्र छ अचेल
द्रौपदीहरूको नितम्ब बढिरहेको छ
दुर्योधनहरूको दम्भ बढिरहेको छ
शकुनिहरू पासा फालिरहेछन्
दु:शासनहरू शासन गरिरहेछन्
नपुंसक भीष्मपितामह
माया पाण्डवलाई गर्दै प्रहार पाण्डवलाई गरिरहेछ
धर्ती फेरि कुरुक्षेत्र भइरहेछ
कृष्णको आफ्नै योजना छ,
आफ्नै महत्त्वकांक्षा छ
(चौथो आँखा-२, उपकविता-३ : कुरुक्षेत्र धर्ती)

कवितालाई एक शब्दमा भन्नुपर्दा मानवताको बारेमा छ । शासकहरूका आफ्ना महत्वकांक्षा पूरा गर्न सर्व-साधारणहरूलाई आफू खूसी प्रयोग गरे र कालन्तरमा तिनै सर्वसाधारणलाई उपेक्षा र बेवास्ता गरे । ती सर्वसाधारणलाई प्रतिकात्मक रुमा अश्वमेध यज्ञका घोडाहरूको संज्ञा दिइएको छ ।

कविताहरूको विशेषता हो – संगठन । हरेक अंशहरू पद्यात्मक लाग्छन् । कवि दुबसु क्षेत्रीका शब्दहरूमा अनुशासन र प्रयोग भेटिन्छ भने भावनामा स्वच्छन्दता । प्रत्येक लाइन बडो कलात्मक र सरस छन् – भावनात्मक रुपमा र सांगठनिक रुप दुवैमा । Alliteration हरूको प्रयोग निकै बिचार गरी प्रयोग गरिएको छ । उदाहरणको लागि :

मान्छेबाट बगेर रगत
नदी र सागरहरू रक्ताम्य भएका छन्
ह्वाङ्हो, ह्युली, हड्सन, टाइग्रिस, टेम्स, डन र डेन्युबहरू
कर्नाली, काबेरी, कङ्गो, नाइल, नाइजर, परिना र पोटोम्याकहरू
सबै सबै राताम्य छन्
(चौथो आँखा -२, उपकविता-१: रगतको गङ्गोत्री)

अनि कविताहरूमा शब्द संयोजन बेजोड छ । शब्द-शब्दसँग खेलेर, ओल्टाइ-पल्टाइ पारेर कविताहरू थप मिठासिलो भएका छन् । जस्तै :

अचेल बुद्धमा युद्ध छ
युद्धमा बुद्ध छ
मान्छेमा अझै खाण्डवदाह छ
खाण्डवदाहमा मान्छे छ
मान्छेमा महाभारत छ
महाभारतमा मान्छे छ
मान्छे युद्धमा छ अझै
मान्छेमा युद्ध छ
युद्धमा मान्छे छ ।
(चौथो आँखा-१, उपकविता-२: युद्ध)

अर्को कुरा, नेपाली लेख र लेखकहरूमा दुर्लभै पाइने विशेषता मान्नुपर्छ – कविताहरूमा विश्व ईतिहासका बिभिन्न घटनाक्रम र पात्रहरूको चित्रण छ । यस अर्थमा पनि पाठकहरूको लागि ज्ञानवर्धक मान्नुपर्छ यो कवितासंग्रह ।

ठाउँ-ठाउँमा शासकवर्ग र तिनका चम्चाहरूलाई निकै खोइलो खनेका छन् । कतै घोडा, कतै कुकुर, कतै बिरालो, कतै स्याल, आदिलाई प्रतिकात्मक रुपमा राखेर चरम तहसम्म व्यंग्य गरेका छन् । उदाहरणको लागि केही पंक्ति :


अन्त्यतिर कविले २१औँ शताब्दीको मानवले शान्ति चाहेको र त्यसको लागि मानवतामा विश्वास गर्ने योद्धाहरूको आवश्यक भएको भन्दै सकारात्मक सन्देशले यस भागको अन्त्य गरेका छन् । एक अंश :

एक्काइसौँ शताब्दीको मान्छे अश्वमेध यज्ञको घोडा बन्नुको विरुद्धमा उभिएको छ
एक्काइसौँ शताब्दीको मान्छे शान्तिको पक्षमा उभिएको छ
मान्छे अब आफैँतिर फर्केको छ
मान्छे अब मान्छेतिर फर्केको छ
मन्दिर छोडेर, मस्जिद छोडेर
गुम्बा छोडेर, चर्च छोडेर
मान्छे अब आफ्नै घरतिर फर्केको छ
(युद्धविरुद्ध उभिएका अश्वमेध यज्ञका घोडाहरू, उपसंहार)

कवितासंग्रह वास्तविक अर्थमा नेपाली साहित्यिक फाँटको उत्कृष्ट कृति हो भन्नुमा दुई मत नहोला । मौका मिलेछ भने अन्य भागका बारेमा पनि लेख्तै गरौँला । अहिलेलाई जदौ !

सम्बन्धित विषयका अन्य लेखहरू
२०६७ को साझा पुरस्कार दुबसु क्षेत्रीलाई – मझेरी डट कम
कवितामा दर्शन: अश्वमेध यज्ञका घोडाहरू – रमण घिमिरे, नेपाल साप्ताहिक

अनेसास : चुनाब र रोग

भर्खरै अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय कार्यसमितिको निर्वाचन ‘सम्पन्न’ भएको छ । र, धेरैले अनुमान गरे बमोजिम, निर्वाचनको परिणामलाई लिएर ‘पराजित’ टिमका उम्मेद्वारहरू निर्वर्तमान कार्यसमिति र उच्च पदाधिकारीहरूको आचरण अनि निर्वाचन प्रकृयाको बारेमा असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

हुन त हामी ‘नेपाली’हरू चुनाब भन्ने बित्तिकै बुथ क्याप्चर र पेलानहरू नै सर्वोत्तम उपाय सोच्ने गर्छौँ । अनि पराजित हुनेहरू पनि परिणाम स्वीकार गर्न पनि गहारो मान्छौँ । तर यस पटक ‘पराजित’ खेमाका प्रत्यासीहरू कमला प्रसाईँ र कृष्ण बजगाईँले संयुक्त रुपमा अदालत धाउने मानसिकता देखाएपछि यो प्रसंग अलि चर्कै हुने देखिन्छ ।

अनेसासको सञ्जाल बढ्दै आएर साहित्य क्षेत्रको NRN बनिसकेको छ । यो टिकेको छ, मात्र यो कारणले कि, सन् २०००को दशक ( नेपाली डायस्पोरा एक्कासि बढेको बेला)मा अनेसास एक किसिमले स्थापित भैसकेको थियो । तर यसको विधान र कार्यसैलीले गर्दामा यो संस्था साह्रै कमजोर र खोक्रो हुँदै गएको छ ।

व्यंग्य गरी यस संस्थालाई होसुसास (होमनाथ सुवेदी साहित्य समाज) भनेको पनि यदाकदा सुन्ने गरिन्छ । करीब बीस वर्ष अगाडि होमनाथ सुवेदीले सुरु गर्दा कार्याधिकार बाँडफाँड राम्रै थियो होला । तर आफूले कार्यसमिति छोडेर ट्रस्टीमा रहँदा पनि मूख्य कार्याधिकार ट्रस्टीले हडप्नुले उनको शक्तिलोभ टड्कारो देखिन्छ । संस्थाका विशेषाधिकारहरू कार्यसमिति नभई सल्लाहकार र ट्रस्टीमा रहने कुरा आफैँमा हाँस्यपद छ ।

होमनाथ सुवेदी र वरिपरिकाहरूको महत्वकांक्षा देख्ता लाग्छ – उनीहरूले अनेसासलाई ‘संस्था’ हैन, ‘कम्पनी’को रुपमा खोल्नु पर्थ्यो।

अनेसासको भविष्य उज्ज्वल नदेखिनुमा अर्को कारण हो – पारदर्शी र प्रजातान्त्रिक मान्यताको कमी ।

पहिले कुरा गरौँ पारदर्शिकताको । संस्थाको केन्द्रीय समितिमा भोट हाल्न आजीवन सदस्य बन्न जरूरी छ जसको लागि मोटो रकम बुझाउनु पर्छ । अहिलेसम्म जम्मा भएको रकमको लेखा-जोखा बारे आफू अनभिज्ञ रहेकोले केही किटान गर्न त सक्तिन; तर गत केही महिना यताका इमेलहरू (विशेष गरी निर्वतमान कार्यसमितिका अध्यक्ष ज्ञानेन्द्र गदालबाट प्राप्त) हेर्ने हो भने प्रश्न उठाउने ठाउँहरू प्रसस्त रहेछन् (गदालले होमनाथ सुवेदीप्रति यो विषयमा पनि औँलो उठाएर इमेलहरू लेखेका छन्) ।

मोटो रकम बुझाउनुको मतलब यो पनि हो कि, पैसो मात्रै बुझाए जो जसले पनि निर्वाचनमा भाग लिन पाउँछ – चाहे त्यो कुनै च्याप्टरमा सम्बन्धित होस् या नहोस्, साहित्यमा लगाव/क्षमता होस् या नहोस्, अथवा धरतीमै होस् या नहोस् । त्यसैले यो सोच्ता खिन्न लाग्छ – खाडी, मलेसिया, जापान, आदिका साहित्यमा हुरुक्क हुनेहरू जानी-नजानी अनेसासको छातामुनि बसेर दौडधूप गर्छन्, जस चाहिँ अनेसासले लिन्छ । ‘ग्रासरुट लेबल’का दौडधूप गर्नेहरूलाई केन्द्रीय समितिको एक पित्को पनि हिस्सा दिइँदैन ।

प्रजातान्त्रिकताको कुरा पनि सँगै गर्नु पर्ने हुन्छ । संसारभर छरिएर रहेका च्याप्टरहरूको केन्द्रीय समितिमा कुनै पनि हैसियत हुँदैन । च्याप्टरका साथीहरूले निर्वाचन प्रकृया र नातीजाबारे थाहा पाउने अरू सर्वसाधारणले जस्तै हो । बरू NRN मा कोटा हुन्छ । यहाँ अनेसास पनि NRN जस्तो हुनुपर्छ भन्न खोजिएको त हैन । कुरा के हो भने, No taxation without representation भने झैँ, जब च्याप्टरका सदस्यहरूको हैसियत भनेको केन्द्रमा पैसामा बुझाउनु, क्षेत्रीयस्तरका कामहरूको लागि दौडधूप गर्नु, तर आफ्नो पहुँच भने नहुनुमा सीमित रहन्छ, ‘अनेसास नै किन ?’ प्रश्नहरू सजिलै उठ्नेछन् (उठ्तैछन्) । यसको समाधान नभएमा अनेसासको भविष्य उज्ज्वल देखिन्न ।

यी दुई प्रसंगहरूको कुरा गर्दा निर्वतमान अध्यक्ष गदालको “अनेसास निर्वाचन सम्बन्धि बिशेष सम्बोधन !” पठनीय छ ।

दुई वर्ष अगाडि पनि निर्वाचनको परिणामलाई लिएर पराजित पक्षबाट असन्तुष्टि उठेको थियो । छ वर्ष अगाडि पनि यस्तै ‘लफडा’ भएको थियो जसको कारणले परिणाम आउन केही समय लागेको थियो । यस पटक भने ‘पराजित’ भनिएका खेमाका तर्फबाट वकिल खडा गरी संयुक्त रुपमा अमेरिकी अदालत धाउने कुरा जानकारीमा आएको छ ।

अध्यक्ष पदका प्रत्यासी कृष्ण बजगाईँजीबाट प्राप्त भएको यस पटकको निर्वाचनको ‘धाँधली’का पाटाहरू (जस्ताको तस्तै) :

१)निर्वाचन आयोगका प्रमुख आयुक्त एच बी भण्डारीले खत्री समूहलाई जिताउन पूर्व प्रकाशित निर्वाचन कार्यतालिका भन्दा दुइदिन अघि नै मत्र पत्र पठाएर धाँधलीको सुरुवात गरेका थिए । मैले त्यसको बिरोध गर्दा गदाल र होमनाथ सुवेदीको दवाबले पठाएको भनेर भण्डारीले लाचारी ब्यक्त गरे । भण्डारी, सुवेदी र गदाल नै खत्री समूहलाई जिताउन लागेका थिए भन्ने कुराको यो नै सबै भन्दा ठूलो प्रमाण हो ।
२) हाम्रा पक्षका मतदाताको इमेल जानाजानी बिगारी दिने, सच्चाउन अनुरोध गर्दा नसच्याइ दिने, इमेल ह्याकिङको हल्ला फैलाएर धेरैको इमलेबाट आफै भोट हाल्ने काम गदाल, सुवेदी र खत्रीबाट भए । हाम्रा पक्षका मतदाताले मतपत्र(ब्यालेट) पाउँ भनेर अनुरोध गर्दा पनि मतपत्र पठाउने काम निर्वाचन समितिबाट भएन ।
३)निर्वाचन सुरु भएपछि अध्यक्ष गदालले म अध्यक्ष पदको उम्मेद्वारको बिरुद्धमा २ वटा अनलाइन पत्रिकामा अन्तर्वार्ता दिएर निर्वाचनलाई प्रभाव पार्ने गरि मलाई हराउन निर्वाचन आचारसंहिता उल्लघन गरेको सप्रमाण दुइपटक लिखित उजुरी र एक पटक मौखिक उजुरी गर्दा पनि कुनै सुनवाई नगर्ने निर्वाचन आयोग र भण्डारी नाङगोरुपमा खत्री समूहलाई जिताउन लागेका थिए भन्ने प्रष्ट हुन्छ ।

अनेसासलाई आगामी दिनमा दिगो र प्रभावकारी बनाउने हो भने, च्याप्टरहरूको बनोटको बारेमा पुनर्बिचार गर्नुपर्छ । केन्द्रीय पदाधिकारीहरूको चयनमा च्याप्टरहरूको हात हुनुपर्छ । ट्र्स्टी-फस्टीहरूको हैसियत तोड्नुपर्छ । पूरै रुपमा अनेसासको मुहार फेर्नुपर्छ ।

अरे! साहित्य समाजको लेखमा त साहित्यको कुरा पो गर्न पर्ने, कहाँ चुनाबको प्रसंग लेखिराख्या होला ! 🙂

ईतिश्री : ।

कमरेड अभि

कमरेड अभि र मेरो परिचय लामै हो । तर साह्रै नजिक भनिहाल्न चाहिँ अलि मिल्दैन ।

महिना, गते यकिन भएन, तर बार भने शुक्रबार नै हुनुपर्छ । नत्र म सुटको पहिरनमा कालो ब्याग बोकेर त्यस रेस्टुरेन्टमा पसेको हुने थिइन ।

“ओहो कमरेड, के छ?” ढोकाबाट छिर्ने बित्तिकै उनीले मेरो ध्यान खिचे ।

म राजनैतिक मान्छे हैन । उनीले पनि खुल्लै रुपमा कुनै पार्टीको प्रचार गरेको देखेको छैन । तर यो उनको थेगो हो या सरसता, उनी जसलाई पनि ‘कमरेड’ नामाकरण गरिदिन्छन् र आफैँ पनि ‘कमरेड’ सम्बोधन गरिन रुचाउँछन् – कम्तीमा पनि अनौपचारिक भेटमा ।

औपचारिकता पुरा गर्नै पर्यो । हात मिलाइयो । धेरै दिनसम्म भेटघाट नभएकोमा गुनासो सुनियो, सुनाइयो । उनको संस्थाका गत केही महिनाका कार्यक्रमहरूको बारेमा बुझियो । फलाना-ढिस्कानाको हालखबर सोधियो । अरू केही आउरे-बाउरे गफ गरियो ।

त्यतिञ्जेसम्ममा उनीले म एक्लै आएको बुझे । एउटै टेबलमा बस्न आग्रह गरे ।

टोकियोको मुटुमा शुक्रवार बेलुका दुई जना खान बसेपछि, शुरुवात त बियरबाटै गर्नुपर्यो । त्यही गरियो – पूर्णिमाले हाम्रो अगाडि दुई गिलास किरिन्-नामा बियर भरिदिइन् ।

हामी कुनै एक संस्थाको मार्फत एक-अर्कालाई चिन्न पुगेका नेपाली हौं । त्यसैले सधैँ कुराकानी नेपालको बारेमा, संस्थाको बारेमा र संस्थामा आवद्ध सदस्यहरूको बारेमा हुन्छ । त्यस दिन पनि कुनै अपवाद हुने कुरै भएन ।

काठमाण्डौंबाट टोकियोसम्म सिधा डोरी टाँग्ने हो भने त्यो पाँच हजार किलोमिटरभन्दा लामो होला । झन् त्यसमाथि पनि आकाश छुने हिमालय, चीनको विशाल धरातल, अनि समुद्र । बीचमा जे-जस्तै भौगोलिक व्यवधान बिछिए पनि, मानसिक दुरी सून्य छ ।

फेरि पनि, हामी नेपाली । नेपाली रेस्टुरेन्टमा जमघट हुँदा सुरुवात केबाट गर्ने भन्ने चिन्तै हुँदैन । खानाको कुरा गरे म:मबाट, गफ गरे नेपालको राजनीतिबाट । मैले पूर्णिमालाई खानाको अर्डर दिएँ । उनले गफको प्रसंग निकाले, “खै, यस्तै चालले संबिधान लेखिएला र ?”

स्वभाविक र सान्दर्भिक चिन्ता थियो ।

“यो, हामी जस्ताले तपाईं जस्तालाई सोध्ने प्रश्न पो त !” मैले उत्तर दिएँ ।

“तपाईंको विचार सोधेको ।”

“संबिधानसभा त्यसैको लागि त छ नि । जनता र नेताले चाहे नआउने कुरै छैन, हैन र ?”

“हाम्रो देशमा चाहेर मात्रै हुँदैन । मूख्य पार्टीहरूमा त्यो मानसिकता नभई हुँदैन ।” उनले केही चिन्ता थपे ।

हामीले एक‍-एक गिलास किरिन्-बियर थप्यौं ।

“पार्टीहरूमा भर पर्ने हो भने त पार्टीतन्त्र भइहाल्यो नि । लोकतन्त्रको युगमा लोकको बिचार अनुसार पो चल्नुपर्यो नि!” यो मैले सधैँ मनमा लिएको बिचार थियो । प्वाक्क भनिहालें ।

“त्यो आइडियल कुरा हो । त्यसको लागि जनताको मनोभव अनुसार नेता चल्नुपर्छ । जापानजस्तो शत प्रतिशत शिक्षित मुलुकमा पनि त्यो पुरै रुपमा सम्भव छैन भने हाम्रो त के कुरा गर्नु!”

उनीसँग रेडीमेड उत्तर पनि थियो, “जब लोकतन्त्रको सिंहासनमा बसेकाहरूसत्ताको खिचातानमा व्यस्त छन् भने संबिधान लेख्ने फुर्सद कसलाई ?”

मैले टाउको हल्लाएँ ।

त्यसपछि कमरेड केही समय चिन्तनमय बने । मैले उनका यी सब चिन्ता पहिला भेटहरूमा सुनिसकेको थिएँ । फेरि पनि सुनिदिएँ, “भन्नुहुन्छ भने, हाम्रो जत्तिको लामो र गौरवमय ईतिहास कसको छ ? हाम्रो समाजबाट शान्तिका प्रतिक पनि निस्किए, क्रान्तिका पनि । वुद्धको पच्चीस सय वर्ष पहिलेको सन्देश कति देश घुम्दै यहाँ जापान आइपुग्दा त यिनीहरूले समाजलाई यस्तो बनाएका छन् । हामी भने वुद्धहरू र भृकुटीहरू जन्माउने, अनि आफ्नै देशमा काटमार गर्ने !”

सत्य कुरालाई नकार्न मिलेन । तर बेलुकाको मनोरञ्जन सित्तैमा दिनेवाला उनी पनि थिएनन् । मैले मौन बस्ने धरै पाइन । उनीले सोधिहाले, “किन हामी विश्वका सबभन्दा गरीब, अनि यिनीहरू सबभन्दा धनीहरू ? तपाईंलाई कस्तो लाग्छ ?”

मसित कुनै उत्तर त थिएन । हप्तान्तको बेलुका, मेरो दिमाग थकित र खाली थियो ।

खाली त बियरका गिलासहरू पनि थिए । अनि खाली थिए सँगैका प्लेटहरू, जसमा केही क्षण अघिसम्म म:मका डल्ला र सुकुटीका टुक्रा बिराजमान थिए । ती खाली शिशी र प्लेटहरू हामीलाई व्यंग्य हान्दै र चुनौती दिँदै थिए । पूर्णिमा फेरि अर्डर टिपेर फर्किन् ।

मसँग अभिको सवाललाई मत्थर पार्न सक्ने आत्मविश्वास थिएन । तैपनि हामी नेपालीका केही कमजोरीहरू दिएँ – अशिक्षा, यातायातको अभाव, परिश्रमको अभाव, बाहिरी विश्वसँगको दूरी, र सक्षम नेताको कमी ।

कमरेडको चित्त बुझेन । उनको अर्थ्याए, “ती पनि अवश्य हाम्रो बिकासको ढिलाइका कारणहरू हुन् । हाम्रो दरिद्रताको मुख्य कारण त हामी नेपाली आफैँ र हाम्रो समाजको भ्रष्ट सिस्टम ।”

म मुक भई उनको तर्क बुझ्ने प्रयत्न गरें । एक घुट्की बियरको सहयोग लिएँ । अहँ, त्यसले पनि दिमागलाई तिखार्न सकेन । उनको विद्वताको शरणमा पुग्नुको विकल्प मसँग थिएन ।

“ल भन्नुस्, तपाईंले अहिलेको अफिसमा काम गरेको कति भयो ?” उनीले सोधे ।

“पाँच वर्ष ।”

“कति स्टाफ छन् ?”

“आफ्नै र अन्य कम्पनीका कामदारहरू गरेर यसै होला, पाँच-सात हजार ।”

“अफिस कति बजे शुरु हुन्छ ?”

“नौ बजे ।”

“ती पाँचहजारमा दैनिक कति जना जति नौ बजिसकेपछि अफिसभित्र छिर्छन् ?”

“कारणबिना ढिलो हुने त कोही हुन्न । रेल-दुर्घटना, टाइफु आदिले गर्दा केही ढिला हुन लागेको खण्डमा अफिसका सहकर्मीहरूलाई अग्रिमै जानकारी गराउने चलन छ ।”

“यदि कोही बिनाकारण ढिलो भयो भने के हुन्छ ?”

“ढिलो भएको समय बराबरको तलब काटिन्छ ।”

“कुरा यहाँ छ ।” उनी आफ्नो तर्कलाई माथि पार्ने मौका छोप्दै थिए । मौका पाए ।

मैले पनि एउटा लामो बयानको झन्झटबाट केही बेर छुटकारा पाएँ ।

“यो उदाहरणमा, कुरा के भने कमरेड, जापानीहरू नियमका पक्का हुन्छन् । इमान्दार हुन्छन् । त्यसैले उनीहरू प्रगति गर्छन् ।”

“इमानदार र पक्का त नेपाली पनि हुन्छन् । बेलायती र भारतीय सेनाका नेपाली डफ्फा हेर्नुस् । भारतदेखि खाडी मुलुक अनि मलेशियाका कम्पनीहरूको गार्डहरू हेर्नुस् । ईमानदारिता र परिश्रमले त त्यस्ता काम ‘नेपाली’ भनेकै भरमा धमाधम पाउँछन् नि !” धेरै अरूबाट सुनेको, र केही आफूलाई लागेको बताएँ ।

“त्यही म भन्न खोज्दैछु ! ती कडा नियम कानूनमा छन् र पो ईमानदार छन् । अलिकति तलमाथि भयो भने कडा सजायँ मिल्छ ।”

“कडा नियम, कडा सजाय त सेनामा पनि हुन्छ !”

“र त सैनिक शासन अथवा हलुका निरंकुशता भएका देशमा भ्रष्टाचार कम र विकास अलि ज्यादा हुन्छ । हाम्रो जस्तो तेस्रो विश्वमा यो कुरा अलि बढी नै लागु हुन्छ ।”

“लिबिया, म्यानमार र उत्तर कोरियालाई यसको उदाहरण मान्न सकिन्छ ?” मैले उनको तर्कलाई ठट्टा गरेर टार्न खोजेँ । ।

“केही अपवाद होलान् । त्यो नेतामा भर पर्ने कुरा हो । महाथिरको मलेशिया हेर्नुस्, कम्युनिस्ट भियतनाम हेर्नुस्, मुस्सर्फको पाकिस्तान हेर्नुस् । केही निरंकुश थिए र पो तर बिकास र भ्रष्टचार-निवारण सम्भव भयो ।”

उनको कुरालाई पुरै स्वीकार्न नसके पनि दम अवश्य थियो ।

अभि-पूराणको अध्याय अँझै सकिएको रहेनछ । उनीले सोधे, “यो त भयो हाम्रो नेपाल र विदेशको सामाजिक सिस्टमको भिन्नता । हामी नेपालीले नसुधारी अघि लाग्न नसक्ने अर्को कारण छ । सुन्न पाँच-दश मिनेट समय छ तपाईंसँग ?”

पाँच-दश मिनेटको त के कुरा ? मसित पुरै शुक्रबार बेलुकी र त्यसपछिको शनिबार, आइतबार खाली थियो ।

“बास्तबमा, हामी नेपाली हामी आफैँ भित्रैबाट नसुधारी केही हुनेवाला छैन ।”

म ज्ञानी चेला भई उनको प्रवचन सुनिरहेँ ।

“हामी सधैँ समानता र अधिकारको कुरा गर्छौं, राज्यसँग झगडा गर्छौं, टायर बाल्छौं, गाडी तोडफोड गर्छौं, र देश बन्द गर्छौं । तर समानता र अधिकार देशले दिने कुरा हो ? त्यो त हामी आफू-आफूले एक अर्कासँग लिने दिने हो । जब लिने कुरा गर्छौं, कसैले त दिनै पर्यो । त्यो दिने को हो त ?”

मैले बोल्ने बेला आएको थिएन । उनकै शब्दहरूको प्रतिक्षा गरिरहेँ ।

“त्यो दिने नेपाली जनता नै त हो ।” उनले रहस्यको खुलासा गरे ।

“दिने पनि नेपाली जनता, लिने पनि नेपाली जनता ?”

“हो । सरकार भनेको जनताको प्रतिनिधि न हो ! जब नेपाली जनताले आफ्नो प्रतिनिधिसँग ‘अधिकार देऊ’ भनेर माग्छ भने, त्यसको साटोमा त केही दिनै पर्यो ।”

“कर्तव्यको कुरा ?”

“ठिक भन्नुभयो । हामी कर्तव्य चाहिँ ननिभाउने, तर अधिकार मागिरहने । त्यो सन्तुलन कसरी सम्भव छ ?”

कुरा सोह्रै आना सही थियो । जापानी परिवेश केही वर्ष देखेर भोगेको मान्छेलाई त झन चित्त बुझ्दो तर्क थियो ।

उनको कुरा अँझै सकिएको थिएन, “अब कुरा आउँछ, कर्तव्य कसरी निभाउने ? त्यो, दुई किसिमको हुन्छ – कानूनी र नैतिक जिम्मेवारी । कानूनी जिम्मेवारी त पुरा गर्नै पर्यो । साथैमा नैतिक जिम्मेवारी पुरा नगरी हाम्रो समाज सार्थक रुपले बिकास हुन सक्दैन ।”

“नैतिक जिम्मेवारीको मतलब – चन्दा दिने, सामाजिक काममा सहयोग गर्ने जस्ता कुरा गर्नुभा’ ?”

“त्यो त माथिल्लो स्तरको कुरा भयो । अँझै मध्यम वर्गीय सबैले त्यसो गर्न सक्ने क्षमता छैन ।”

“उसो भए ?”

“यसै, मानवीय काम गर्नु पर्यो । सन्तान उचित शिक्षा दिनुपर्यो । बालक बालिकालाई श्रममा लगाउनु भएन । घरेलु हिंशा रोक्नुपर्यो । महिलालाई किचनमा सीमित राख्नु भएन । जुवातास बन्द गर्नुपर्यो । जातीय भेदभावहरू बन्द गर्नुपर्यो । झुठ रोक्नुपर्यो । आदि, आदि सामान्य कुराहरू न हुन् । तर ती सबै प्रत्येक नेपालीबाट हुनु पर्यो । मानवीय आधारमा बिकास नभैकन देशले भौतिक बिकास कसरी सम्भव छ ?”

त्यसो त राजनैतिक शक्ति, मानव अधिकार संस्था, लेखक र पत्रकारहरू कुन चाहिँले यी विभेदको बिरुद्धमा बोल्ने गरेका छैनन् र ? त्यसो हुँदा हुँदै पनि यी समस्याहरू केही हलुका भएका छैनन् । टोकियोको कुनै रेस्टुरेन्टमा बियरको गफले यी सब ठुला-ठुला समस्याहरू कत्तिको मत्थर हुन्छन्, मैले अनुमान गर्न सकिन । तैपनि उनीलाई मैले भर्खरैको एउटा घटना सुनाएँ, “सुन्नुस् कमरेड ! तीन हप्ता अगाडि एउटा जापानी टिभीमा कुनै नेपालीको बारेमा डकुमेन्ट्री आएको थियो । मेरो अफिसका जापानी सहकर्मीहरूले हेरेका रहेछन्, भोलिपल्ट मलाई बताउँदै थिए । त्यो मान्छे जापानी महिलासँग बिहे गरेर यतै बस्दो रहेछ । उसको नेपालमा घर रहेछ गुल्मीतिरको कुनै बिकट गाउँमा । उता पनि उसकी एउटी श्रीमती रहिछ, पन्ध्र-सत्र वर्षको उमेरमा बाबुले खोजिदिएकी । दुइटा छोरी र एउटा छोरा उतै । टिभीले उसको गाउँको घरसम्म छायांकनसम्म गर्न भ्याएछन् । मेरा सहकर्मीहरूले जब उसको परिवारको बर्णन गरे, म आफैँलाई लाज लागेर आयो । उसको श्रीमती दिनदिनै पानी बोक्न आधा घण्टाको उकालो-ओरालो दैनिक पाँच-सात पटक गर्दिरहिछ, छोराछोरीहरू खाली खुट्टा हिँड्दा रहेछन् । उनीहरू गुन्द्रुक-च्याँख्लाले पेट भर्न बाध्य रहेछन् । बच्चाहरूको खानामाथि माखा-झिंगा, शरिरभरि मयल-घाउ, र कपालभरि लिखा-जुम्राको वर्णन सुन्दा म आफैँलाई उदेक लागेर आयो । त्यो मान्छे यहाँ कान्छी लिएर बस्ने, उसको परिवार भने नेपालमा नरकीय जीवन बिताइरहेका । अब भन्नुस्, केही कमाउने, बुझ्ने नेपालीहरूले त यस्तो गर्छन् भने दुई पेट भर्न धौ-धौ पर्नेहरूलाई कहाँको लोकतन्त्र, संबिधान, र मानव-अधिकारको बारेमा कसले सोच्छ ? कर्तव्य र अधिकारजस्ता ठुल्ठुला आदर्शका कुरा त हाम्रो क्षमताभन्दा बाहिरको कुरा हो । ।”

कमरेडले केही प्रतिकृया दिएनन् । उनी ट्वाइलेट जान्छु भनेर उठे । हाम्रो गफमा एकछिन ब्रेक पायो ।

साँझको हाम्रो भेटघाटको त्यस मध्यान्तरपछि अभिको बोलीको रफ्तार आश्चर्यजनक रूपमा कम भयो । सायद अधिक बियरको असर थियो ।

भन्नछन् – कुरो र कुलो जता लग्यो त्यतै जान्छन् । कमरेडको गफ समाजशास्त्र, राजनीति हुँदै बिज्ञान-प्रविधि र ईतिहासतिर मोड लिँदै गयो । उनीले केही बेर कम्युनिस्ट रूसले प्रविधिको बिकासको चुलीमा पुगेको, अहिलेको चीनले अमेरिका र संसारलाई जित्न लागेको कुराहरू थपे । त्यसपछि उनले अमेरिकाको चुरी फेरे – केही बेर क्युबा, केही बेर भियतनाम-युद्ध, र केही बेर अफ्रिका र मध्येपूर्वसँगको असफल कुटनीति । उनीले पूँजीवाद असफल भएको दाबी गरे । त्यसलाई पुष्टी गर्न अमेरिका र युरोपमा भएको सामाजिक-आर्थिक असमानताको उदाहरण दिए ।

म आफैँ पनि उनका तर्कहरू झण्डै झण्डै बुझ्न नसक्ने अवस्थामा पुगिसकेको थिएँ । मेरो लागि यो पूँजीवाद राष्ट्रमा बसेर यिनीहरूको खेदो काट्नु व्यर्थ थियो ।

हाम्रो गफ संसार भ्रमण गरेर अन्तत: नेपाल आइपुग्यो । कमरेडले लोकतन्त्रपछिको सत्ताको लुछाचुँडीप्रति चिन्ता व्यक्त गरे ।

हर-कोही वुद्धिजीवी, हर-कोही कवि-लेखक, हर-कोही नेतागिरी यो शहरमा छलफलको अन्त्य ‘समय’ सिवाय कसैले गरिदिन सक्तैन । हाम्रो भेटको अन्त्य गर्न सक्ने पनि त्यही ‘समय’ थियो । कमरेडले घडी हेर्दै भनेँ, “मेरो भोलि कार्यक्रम छ । हुन त जापानमा भए पनि नेपाली कार्यक्रम नेपाली समयमा नै शुरु हुन्छ । तैपनि सभा-हलको साँचोको जिम्मा म आफैँले लिनुपर्नेछ ।”

मैले उनको विवशता बुझेँ र त्यसमा सहमति जनाएँ ।

रेस्टुरेन्टको काउन्टरमा भीड अलिक बेसी नै थियो । कमरेडले आधा रकम मेरो हातमा थम्याई बाहिर कुर्ने ईशारा दिँदै निस्किए ।

पैसा बुझ्दै पूर्णिमाले भनी, “आज त तपाईँले अभि दाइलाई साह्रै चर्को घोच्ने गरी भन्नुभो नि ।”

मैले उसको कुरा बुझिन । त्यस दिन म निकै कम बोलेको थिएँ, कसरी उनीलाई असजिलो पर्ने कुरा भन्न सकेँ ?

पूर्णिमाले मेरो असमञ्जसतालाई बुझिछ क्यारे, उसैले थपी, “त्यही टिभीमा देखिएको नेपालीको कुरा । त्यो अभि दाइको अवस्थासँग धेरै मिल्छ ।”

म लज्जित भएँ । तर केही थाहै नपाए जस्तो गरी यो कुरा त्यसै टार्नु बाहेक मसँग अब कुनै उपाय थिएन ।

बाहिर कमरेड मलाई कुर्दै थिए । शुक्रबारको बेलुका, मान्छेको चहलपहल अलि बेसी नै थियो । अधिकांश मानिसहरू जागीरेहरू थिए । उनीहरूलाई सुट र कालो झोलाबाट सजिलै चिन्न सकिन्थ्यो । अनि धेरैजसो तीन-चार जनाको समुहमा थिए र प्राय: रक्सीले मातिएको अवस्थामा थिए । अलि पर तीस-चालीस जनाको संख्याको कलेजका ठिटाठिटीहरूको हुल थियो । सम्भवत: तिनीहरू पनि कुनै रेस्टुरेण्टमा रक्सी पिएर निस्केका थिए । उनीहरू चर्का-चर्का स्वरमा मात्तिँदै कराउँदै र हाँस्तै थिए ।

रेलको स्टेसनभित्र छिरेपछि कमरेडले हात मिलाउँदै भने, “हस् त कमरेड, मिल्यो भने भोलिको कार्यक्रममा आउनुहोला ।”

मैले स्वीकृति जनाउँदै उनीसँग बिदा लिएँ ।

कमरेड अभिको जीवन देखेर मलाई टिठ लागेर आयो । सात समुद्रपारि आइपुग्दा पनि उनीलाई आफ्नो कर्मले छोड्न सकेको थिएन । केही समय पायो कि दुई चार जना नेपालीहरू जम्मा गरेर एउटा संस्था खोल्छन्, दुई चार कार्यक्रम गराउँछन् – भलै त्यसको उपलब्धी सून्य किन नहोस् । उनीले कुन बाध्यताले यतै दोश्रो घरजम गरे, मैले बुझ्न सक्ने कुरो भएन । तैपनि पूर्णिमाको कुरा पत्याउने हो भने नेपालको परिवारलाई पनि चटक्कै बिर्सन सकेका छैनन् । आफ्नो देश अनि आफ्नो पूर्खामा गर्व गर्छन् – त्यो उनको बोलीचालीबाट प्रष्ट हुन्छ । आफ्नो क्षमताभन्दा निकै टाढाको कुरा भए पनि उनी देशको लागि ठुला-ठुला सपना देख्छन् । यो ‘वाद’को समर्थन र उ: ‘वाद’को बिरोध गर्छन् । तैपनि कुनै खुसी या कुनै बाध्यताले यो समाजको चक्रव्यूहमा फँसेका कमरेड अभि महाभारतका अभिमन्युजस्तै भएका छन् ।

भीडमा नहराउञ्जेलसम्म मैले उनैलाई हेरिरहेँ ।