-हारुकी मुराकामी
अप्रिलको मौसम सफा भएको एक बिहान, हाराजुकु(१) पछाडिपट्टिको सडकमा मैले शतप्रतिशतकी केटीलाई भेटें।
खासै सुन्दर केटी हैन। राम्रो कपडा लगाएकी पनि हैन। भर्खरै उठेर आएको जस्तो गरी उसको कपालको पछाडिको भाग कक्रक्क परेका थिए र उमेर पनि सायद करीब तीस पुगेको हुँदो हो। तर मैले पचास मीटर परैबाट उसलाई चिनें। ऊ मेरो लागि शतप्रतिशतकी केटी हो। उसलाई देखेको क्षणबाटै मेरो मुटु अनियमित चालमा धड्किन थाल्यो र मुख मरूभूमिजस्तै सुख्खा भयो।
मानी लिऊँ, तपाईंलाई कुनै किसिमको केटी मन परेको हुन सक्छ। जस्तै सलक्क परेको पातलो पैतला भएको केटी, अथवा आँखा ठुली भएको केटी, अथवा राम्रा औंलाहरू भएकी, वा समय लगाएर बिस्तारै खाना खाने, त्यस्ता कुनै किसिमका केटी मन पर्न सक्छ। केटीको मामिलामा ममा पनि यस्तै प्राथमिकताहरू छन्। रेस्टुरेन्टमा खाना खाँदै गर्दा, पल्लो टेबलकी केटीको नाकको आकारले आकर्षित भएको पनि छु।
यद्यपि शतप्रतिशतकी केटीलाई कस्तो किसिमको भनेर वर्गीकरण गर्न कसैले पनि कदापि सक्तैन। उसको नाकको आकार कस्तो थियो भनेर म पटक्कै सम्झन सक्तिन। हैन, उसको नाकै थियो या थिएन भन्ने पनि सम्झन सक्तिन। एक मात्र के सम्झिन्छु भने ऊ खासै सुन्दर थिइन। कस्तो अचम्मको कुरो हो है।
“हिजो मैले शतप्रतिशतकी केटीलाई बाटोमा भेटें नि,” म कसैलाई भन्छु।
“ए,” ऊ उत्तर दिन्छ। “राम्री थिई?”
“हैन, त्यस्तो थिइन।”
“उसो भए मनपर्ने खालकी थिई?”
“त्यो त सम्झन सक्तिन। आँखा कस्तो आकारको थियो, छाती ठुलो थियो या सानो केही पनि सम्झेको छैन।”
“अचम्म छ त बा!”
“अचम्मै त नि!”
“त्यसो भए,” ऊ पट्यार मान्दै भन्छ। “केही गर्यौ? उसलाई बोलाउने अथवा पिछा गर्ने जस्तै क्या!”
“केही पनि गरिन,” म भन्छु। “उसलाई बाटोमा भेटेको मात्रै हो।”
—
ऊ पूर्वतिरबाट पश्चिम, म पश्चिमबाट पूर्वतिर हिंड्दै थियौं। साह्रै आनन्दमय अप्रिलको बिहान थियो त्यो।
तीस मिनेटको लागि भए पनि मलाई ऊसित कुरा गर्न मन लाग्यो। उसको जीवनकथा सुन्न मन लाग्यो र उसको अगाडि खुल्न मन लाग्यो। र सबैभन्दा त सन् १९८१को अप्रिलको एउटा सफा मौसम भएको मनमोहक बिहानीमा हाराजुकुको पछाडिपट्टिको सडकमा हामीहरू एकअर्कालाई किन भेट्तैछौं, यो भाग्य जुर्नुको कारण खुलाउन मन लाग्यो। त्यसमा शान्तिकालीन बेलाको पुरानो मेसिनमा जस्तै न्यानो रहस्य लुकेको छ, कुनै सन्देह छैन।
हामीहरू यस्तै केही गफहरू गरेर कतै लन्च खाईवरी उडी अलेन (२)को फिल्म हेरी, होटलको बारमा छिरेर कक्टेल अथवा केही पिउन पाइएला। मिल्यो भने त्यसपछि ऊसित सुत्न पनि मिल्ला।
सम्भावनाहरू मेरो मुटुको ढोका ढक्ढक्याउँछन्।
मेरो र उसको बीचको दूरी सिर्फ पचास मीटरमा नजिकिएको छ।
मैले उसलाई कसरी बोलाउनु पर्छ होला?
“नमस्ते। सिर्फ तीस मिनेटको लागि भए हुन्छ, मसँग कुरा गरिदिनुस् न!”
छ्या कस्तो सिल्ली, बीमा बेच्न आँटेको जस्तो।
“सुन्नुस् न, यता वरिपरि चौवीसै घन्टा खुल्ने कपडा धुने पसल छ?”
यो पनि मिलेन, जबकि मसित मैलो कपडा जम्मा गरेको झोला नै छैन !
अथवा सिधै सत्य कुरा खुलाउँदा पो ठिक हुन्छ कि ! “हेल्लो, तिमी मेरो लागि शतप्रतिशतकी केटी हौ नि।”
उसले सायद त्यस्तो कुरा पत्याउँदिन। यदि पत्याइहाली भने पनि मसित गफ गर्न मन नलाग्न पनि त सक्छ। म तिम्रो लागि शतप्रतिशतकी केटी भए पनि तिमी मेरो लागि शतप्रतिशतको केटा हैनौ, उसले भन्न सक्छे। यदि त्यस्तो अवस्था आइपर्यो भने, निःसन्देह म साह्रै विलखबन्दमा पर्नेछु। म बत्तीस वर्ष पुगिसकेको मान्छे, आखिर उमेर बढ्दै जाने भनेको यस्तै कुरा त हो।
फूल-दोकानको अगाडिपट्टि ऊ र म एकअर्कालाई पार गर्छौं। न्यानो हावाको सानो फोकाले मेरो छाला स्पर्ष गर्छ। पिच गरेको फुटपाथ पानीले भिजेको छ, र वरिपरि गुलाबको बासना मगमग छ। म उसलाई बोलाउन सक्तिन। उसले सेतो स्विटर लगाएकी छ र दाहिने हातमा टिकट नटाँसेको सेतो खाम बोकेकी छ। सायद उसले कसैलाई चिठी लेखेकी थिई। त्यो किन भन्न सकिन्छ उसको अनुहार साह्रै नै अनिंदो थियो; त्यो चिट्ठी उसले रातभरि नै लगाएर लेखेकी पनि हुन सक्थी। र त्यो खामभित्र उसको सबै व्यक्तिगत र गोपनीय कुराहरू थुनिएका पनि हुन सक्छन्।
केही कदम हिंडेर पछाडि फर्कंदा उसको आकार मान्छेहरूको भीडमा हराइसकेको थियो।
****
त्यस बेला मैले ऊसित के भनेर गफ शुरु गर्न पर्थ्यो, त्यो मलाई अहिले भने प्रष्ट थाहा छ । तर त्यो साह्रै लामो हुन्थ्यो र सायद मिलाएर भन्न चाहिं म सक्ने थिइन। मेरो मनमा फुरेको वाक्य त्यति व्यवहारिक पनि छैन।
जे होस्, मेरो कुरा “एकादेशमा” बाट शुरु भई “कहानी साह्रै दुखद छैन त?” मा समाप्त हुन्छ।
****
एकादेशमा, धेरै पहिले, एउटा किशोर र एउटी किशोरी थिए। केटो अठार वर्षको थियो, केटी सोह्र वर्षकी थिई। केटो ह्यान्ड्सम् पनि होइन, केटी पनि खासै राम्री थिइन। ती जहाँ पनि भेटिन सकिने एक्ला साधारण किशोर-किशोरी थिए। तर ती दुवै जना यो संसारको कुनै कुनाकाप्चामा आफूलाई शतप्रतिशत मिल्ने केटी र केटा छ भनेर गहिरोसँग विश्वास गर्दथे।
एक दिन ती दुई जना कुनै सडकछेउमा अकस्मात भेट्न पुगे।
“ओहो कस्तो अचम्म, म अहिलेसम्म तिमीलाई नै खोज्दै थिएँ। पत्याउन्न हौली, तर तिमी मेरो लागि शतप्रतिशतकी केटी हौ।” केटोले केटीलाई भन्यो।
केटीले केटालाई भनी, “तिमी नै मेरो लागि शतप्रतिशत मिल्ने केटा हौ। सबै कुरा मैले कल्पना गरेको जस्तै दुरुस्त। सपनै जस्तो पो भयो त।”
दुई जना पार्कको बेन्चमा बसेर लामो समयसम्म पट्यार नमानी गफमा भुलिरहे। उनीहरू अब एक्ला थिएनन्। शतप्रतिशत मिल्ने साथी चाहनु र शतप्रतिशत मिल्ने साथीबाट चाहिनु भनेको, ओहो, कति ठुलो र भाग्यमानी कुरा !
तर ती दुईको मनमा सानो, साह्रै सानो, शंका उब्जियो। लामो सपना यति सजिलैसँग यथार्थमा परिणत हुन हुन्छ?
केही बेर भलाकुसारी रोकिएको मौका पारेर केटाले भन्यो, “सुन न, अब एक चोटि परिक्षण गरी हेरौं। यदि हामी साँच्चिकै एकअर्कालाई शतप्रतिशत मिल्ने प्रेमी-प्रेमिका हौं भने पक्कै पनि कुनै न कुनै दिन फेरि पनि हाम्रो भेट हुनेछ। र त्यस बेला भेट हुँदा एकअर्काको लागि शतप्रतिशत मिल्ने जोडी हौं भने तत्कालै बिहे गरौं। हुन्छ?”
“हुन्छ,” केटीले भनी।
यसरी ती दुई जना छुट्टिए।
तर साँच्चै भन्ने हो भने त्यसरी परिक्षण गरिरहने आवश्यकता रतिभर थिएन। किनभने उनीहरू सच्चा शतप्रतिशतका प्रेमी-प्रेमिका थिए। र भाग्यको छालले उनीहरूलाई अन्तै डोर्याउँदै लग्यो।
कुनै वर्षको शिशिरयाम फैलिएको इन्फ्लुएञ्जा लागेर ती दुई जना धेरै हप्तासम्म मृत्युको संघारमा पुगेर अन्ततः बाँच्न त सके तर पुराना स्मृतिहरू हराउन पुगे। आँखा खोल्दा उनीहरूको स्मृतिपटल किशोरअवस्थाको डि.एच्. लरेन्स्को खुत्रुकेजस्तै खालि थिए।
तर ती दुई साह्रै बुज्रुक अनि सहनशील किशोर-किशोरी थिए र संघर्षपछि संघर्ष गर्दै ज्ञान र भावनाहरू सिक्दै-जान्दै अन्तत्वगोत्वा पुनः समाजमा फर्कन सक्ने भए। उनीहरू रेलस्टेसन परिवर्तन गर्न, हुलाकमा एक्स्प्रेस डेलिभरी गराउन पनि सक्ने भए। अनि पचहत्तर प्रतिशतको प्रेम र असी प्रतिशतको प्रेम पनि अनुभव गरे।
यसो हुँदाहुँदै केटो बत्तीस वर्षको भयो भने केटी तीस वर्षकी। समय आश्चर्यलाग्दो वेगमा बित्तै थियो।
र अप्रिल महिनाको एउटा सफा मौसम भएको बिहानीपख केटो मर्डिङ्-सर्भिसको कफी पिउन हाराजुकुपछाडिको बाटोमा पश्चिमतिरबाट पूर्व जाँदै हुन्छ भने केटी एक्स्प्रेस-डेलिभरी गर्नको लागि हुलाक टिकट किन्न उही बाटो पूर्वबाट पश्चिमतर्फ आइरहेकी हुन्छे। ती दुई बाटोको बीचमा एकअर्कालाई पार गर्न पुग्छन्। हराएको स्मृतिको सानो किरणले दुई जनाको मुटुलाई छोटो समयको लागि भए पनि केही उज्यालो बनाउँछ।
ऊ मेरो शतप्रतिशतकी केटी हो।
ऊ मेरो शतप्रतिशतको केटो हो।
तर स्मृतिको किरण साह्रै कमजोर भइसकेको हुन्छ। र उनीहरूका शब्दहरू चौध वर्षदेखि अस्पष्टका अस्पष्टै भइरहेको हुन्छ। दुई जना निशब्द एकअर्कालाई पार गरी भीडमा बिलाउन पुग्छन्।
कहानी साह्रै दुखद छैन त?
****
मैले ऊसँग यसो भनेर कुरा शुरु गर्नु पर्थ्यो।
—————-
(१) हाराजुकु – टोकियोको मध्येभागमा रहेको एउटा ठाउँको नाम।
(२) उडी अलेन – हलिउडको पुरानो कलाकार।
– अनुवादः कुमार सिंखडा

