अप्रिलको एक बिहान शतप्रतिशतकी केटीसँग भएको भेटको बारेमा

-हारुकी मुराकामी

     अप्रिलको मौसम सफा भएको एक बिहान, हाराजुकु(१) पछाडिपट्टिको सडकमा मैले शतप्रतिशतकी केटीलाई भेटें।
     खासै सुन्दर केटी हैन। राम्रो कपडा लगाएकी पनि हैन। भर्खरै उठेर आएको जस्तो गरी उसको कपालको पछाडिको भाग कक्रक्क परेका थिए र उमेर पनि सायद करीब तीस पुगेको हुँदो हो। तर मैले पचास मीटर परैबाट उसलाई चिनें। ऊ मेरो लागि शतप्रतिशतकी केटी हो। उसलाई देखेको क्षणबाटै मेरो मुटु अनियमित चालमा धड्किन थाल्यो र मुख मरूभूमिजस्तै सुख्खा भयो।
     मानी लिऊँ, तपाईंलाई कुनै किसिमको केटी मन परेको हुन सक्छ। जस्तै सलक्क परेको पातलो पैतला भएको केटी, अथवा आँखा ठुली भएको केटी, अथवा राम्रा औंलाहरू भएकी, वा समय लगाएर बिस्तारै खाना खाने, त्यस्ता कुनै किसिमका केटी मन पर्न सक्छ। केटीको मामिलामा ममा पनि यस्तै प्राथमिकताहरू छन्। रेस्टुरेन्टमा खाना खाँदै गर्दा, पल्लो टेबलकी केटीको नाकको आकारले आकर्षित भएको पनि छु।
     यद्यपि शतप्रतिशतकी केटीलाई कस्तो किसिमको भनेर वर्गीकरण गर्न कसैले पनि कदापि सक्तैन। उसको नाकको आकार कस्तो थियो भनेर म पटक्कै सम्झन सक्तिन। हैन, उसको नाकै थियो या थिएन भन्ने पनि सम्झन सक्तिन। एक मात्र के सम्झिन्छु भने ऊ खासै सुन्दर थिइन। कस्तो अचम्मको कुरो हो है।
     “हिजो मैले शतप्रतिशतकी केटीलाई बाटोमा भेटें नि,” म कसैलाई भन्छु।
     “ए,” ऊ उत्तर दिन्छ। “राम्री थिई?”
     “हैन, त्यस्तो थिइन।”
     “उसो भए मनपर्ने खालकी थिई?”
     “त्यो त सम्झन सक्तिन। आँखा कस्तो आकारको थियो, छाती ठुलो थियो या सानो केही पनि सम्झेको छैन।”
     “अचम्म छ त बा!”
     “अचम्मै त नि!”
     “त्यसो भए,” ऊ पट्यार मान्दै भन्छ। “केही गर्यौ? उसलाई बोलाउने अथवा पिछा गर्ने जस्तै क्या!”
     “केही पनि गरिन,” म भन्छु। “उसलाई बाटोमा भेटेको मात्रै हो।”
     
     —
     
     ऊ पूर्वतिरबाट पश्चिम, म पश्चिमबाट पूर्वतिर हिंड्दै थियौं। साह्रै आनन्दमय अप्रिलको बिहान थियो त्यो।
     तीस मिनेटको लागि भए पनि मलाई ऊसित कुरा गर्न मन लाग्यो। उसको जीवनकथा सुन्न मन लाग्यो र उसको अगाडि खुल्न मन लाग्यो। र सबैभन्दा त सन् १९८१को अप्रिलको एउटा सफा मौसम भएको मनमोहक बिहानीमा हाराजुकुको पछाडिपट्टिको सडकमा हामीहरू एकअर्कालाई किन भेट्तैछौं, यो भाग्य जुर्नुको कारण खुलाउन मन लाग्यो। त्यसमा शान्तिकालीन बेलाको पुरानो मेसिनमा जस्तै न्यानो रहस्य लुकेको छ, कुनै सन्देह छैन।
     हामीहरू यस्तै केही गफहरू गरेर कतै लन्च खाईवरी उडी अलेन (२)को फिल्म हेरी, होटलको बारमा छिरेर कक्टेल अथवा केही पिउन पाइएला। मिल्यो भने त्यसपछि ऊसित सुत्न पनि मिल्ला।
     सम्भावनाहरू मेरो मुटुको ढोका ढक्ढक्याउँछन्।
     मेरो र उसको बीचको दूरी सिर्फ पचास मीटरमा नजिकिएको छ।
     मैले उसलाई कसरी बोलाउनु पर्छ होला?
     “नमस्ते। सिर्फ तीस मिनेटको लागि भए हुन्छ, मसँग कुरा गरिदिनुस् न!”
     छ्या कस्तो सिल्ली, बीमा बेच्न आँटेको जस्तो।
     “सुन्नुस् न, यता वरिपरि चौवीसै घन्टा खुल्ने कपडा धुने पसल छ?”
     यो पनि मिलेन, जबकि मसित मैलो कपडा जम्मा गरेको झोला नै छैन !
     अथवा सिधै सत्य कुरा खुलाउँदा पो ठिक हुन्छ कि ! “हेल्लो, तिमी मेरो लागि शतप्रतिशतकी केटी हौ नि।”
     उसले सायद त्यस्तो कुरा पत्याउँदिन। यदि पत्याइहाली भने पनि मसित गफ गर्न मन नलाग्न पनि त सक्छ। म तिम्रो लागि शतप्रतिशतकी केटी भए पनि तिमी मेरो लागि शतप्रतिशतको केटा हैनौ, उसले भन्न सक्छे। यदि त्यस्तो अवस्था आइपर्यो भने, निःसन्देह म साह्रै विलखबन्दमा पर्नेछु। म बत्तीस वर्ष पुगिसकेको मान्छे, आखिर उमेर बढ्दै जाने भनेको यस्तै कुरा त हो।
     फूल-दोकानको अगाडिपट्टि ऊ र म एकअर्कालाई पार गर्छौं। न्यानो हावाको सानो फोकाले मेरो छाला स्पर्ष गर्छ। पिच गरेको फुटपाथ पानीले भिजेको छ, र वरिपरि गुलाबको बासना मगमग छ। म उसलाई बोलाउन सक्तिन। उसले सेतो स्विटर लगाएकी छ र दाहिने हातमा टिकट नटाँसेको सेतो खाम बोकेकी छ। सायद उसले कसैलाई चिठी लेखेकी थिई। त्यो किन भन्न सकिन्छ उसको अनुहार साह्रै नै अनिंदो थियो; त्यो चिट्ठी उसले रातभरि नै लगाएर लेखेकी पनि हुन सक्थी। र त्यो खामभित्र उसको सबै व्यक्तिगत र गोपनीय कुराहरू थुनिएका पनि हुन सक्छन्।
     केही कदम हिंडेर पछाडि फर्कंदा उसको आकार मान्छेहरूको भीडमा हराइसकेको थियो।
     
     ****
     
     त्यस बेला मैले ऊसित के भनेर गफ शुरु गर्न पर्थ्यो, त्यो मलाई अहिले भने प्रष्ट थाहा छ । तर त्यो साह्रै लामो हुन्थ्यो र सायद मिलाएर भन्न चाहिं म सक्ने थिइन। मेरो मनमा फुरेको वाक्य त्यति व्यवहारिक पनि छैन।
     जे होस्, मेरो कुरा “एकादेशमा” बाट शुरु भई “कहानी साह्रै दुखद छैन त?” मा समाप्त हुन्छ।
     
     ****
     
     एकादेशमा, धेरै पहिले, एउटा किशोर र एउटी किशोरी थिए। केटो अठार वर्षको थियो, केटी सोह्र वर्षकी थिई। केटो ह्यान्ड्सम् पनि होइन, केटी पनि खासै राम्री थिइन। ती जहाँ पनि भेटिन सकिने एक्ला साधारण किशोर-किशोरी थिए। तर ती दुवै जना यो संसारको कुनै कुनाकाप्चामा आफूलाई शतप्रतिशत मिल्ने केटी र केटा छ भनेर गहिरोसँग विश्वास गर्दथे।
     एक दिन ती दुई जना कुनै सडकछेउमा अकस्मात भेट्न पुगे।
     “ओहो कस्तो अचम्म, म अहिलेसम्म तिमीलाई नै खोज्दै थिएँ। पत्याउन्न हौली, तर तिमी मेरो लागि शतप्रतिशतकी केटी हौ।” केटोले केटीलाई भन्यो।
     केटीले केटालाई भनी, “तिमी नै मेरो लागि शतप्रतिशत मिल्ने केटा हौ। सबै कुरा मैले कल्पना गरेको जस्तै दुरुस्त। सपनै जस्तो पो भयो त।”
     दुई जना पार्कको बेन्चमा बसेर लामो समयसम्म पट्यार नमानी गफमा भुलिरहे। उनीहरू अब एक्ला थिएनन्। शतप्रतिशत मिल्ने साथी चाहनु र शतप्रतिशत मिल्ने साथीबाट चाहिनु भनेको, ओहो, कति ठुलो र भाग्यमानी कुरा !
     तर ती दुईको मनमा सानो, साह्रै सानो, शंका उब्जियो। लामो सपना यति सजिलैसँग यथार्थमा परिणत हुन हुन्छ?
     केही बेर भलाकुसारी रोकिएको मौका पारेर केटाले भन्यो, “सुन न, अब एक चोटि परिक्षण गरी हेरौं। यदि हामी साँच्चिकै एकअर्कालाई शतप्रतिशत मिल्ने प्रेमी-प्रेमिका हौं भने पक्कै पनि कुनै न कुनै दिन फेरि पनि हाम्रो भेट हुनेछ। र त्यस बेला भेट हुँदा एकअर्काको लागि शतप्रतिशत मिल्ने जोडी हौं भने तत्कालै बिहे गरौं। हुन्छ?”
     “हुन्छ,” केटीले भनी।
     यसरी ती दुई जना छुट्टिए।
     तर साँच्चै भन्ने हो भने त्यसरी परिक्षण गरिरहने आवश्यकता रतिभर थिएन। किनभने उनीहरू सच्चा शतप्रतिशतका प्रेमी-प्रेमिका थिए। र भाग्यको छालले उनीहरूलाई अन्तै डोर्याउँदै लग्यो।
     कुनै वर्षको शिशिरयाम फैलिएको इन्फ्लुएञ्जा लागेर ती दुई जना धेरै हप्तासम्म मृत्युको संघारमा पुगेर अन्ततः बाँच्न त सके तर पुराना स्मृतिहरू हराउन पुगे। आँखा खोल्दा उनीहरूको स्मृतिपटल किशोरअवस्थाको डि.एच्. लरेन्स्को खुत्रुकेजस्तै खालि थिए।
     तर ती दुई साह्रै बुज्रुक अनि सहनशील किशोर‍-किशोरी थिए र संघर्षपछि संघर्ष गर्दै ज्ञान र भावनाहरू सिक्दै-जान्दै अन्तत्वगोत्वा पुनः समाजमा फर्कन सक्ने भए। उनीहरू रेलस्टेसन परिवर्तन गर्न, हुलाकमा एक्स्प्रेस डेलिभरी गराउन पनि सक्ने भए। अनि पचहत्तर प्रतिशतको प्रेम र असी प्रतिशतको प्रेम पनि अनुभव गरे।
     यसो हुँदाहुँदै केटो बत्तीस वर्षको भयो भने केटी तीस वर्षकी। समय आश्चर्यलाग्दो वेगमा बित्तै थियो।
     र अप्रिल महिनाको एउटा सफा मौसम भएको बिहानीपख केटो मर्डिङ्-सर्भिसको कफी पिउन हाराजुकुपछाडिको बाटोमा पश्चिमतिरबाट पूर्व जाँदै हुन्छ भने केटी एक्स्प्रेस-डेलिभरी गर्नको लागि हुलाक टिकट किन्न उही बाटो पूर्वबाट पश्चिमतर्फ आइरहेकी हुन्छे। ती दुई बाटोको बीचमा एकअर्कालाई पार गर्न पुग्छन्। हराएको स्मृतिको सानो किरणले दुई जनाको मुटुलाई छोटो समयको लागि भए पनि केही उज्यालो बनाउँछ।
     ऊ मेरो शतप्रतिशतकी केटी हो।
     ऊ मेरो शतप्रतिशतको केटो हो।
     तर स्मृतिको किरण साह्रै कमजोर भइसकेको हुन्छ। र उनीहरूका शब्दहरू चौध वर्षदेखि अस्पष्टका अस्पष्टै भइरहेको हुन्छ। दुई जना निशब्द एकअर्कालाई पार गरी भीडमा बिलाउन पुग्छन्।
     कहानी साह्रै दुखद छैन त?
     
     ****
     
     मैले ऊसँग यसो भनेर कुरा शुरु गर्नु पर्थ्यो।
     
—————-
(१) हाराजुकु – टोकियोको मध्येभागमा रहेको एउटा ठाउँको नाम।
(२) उडी अलेन – हलिउडको पुरानो कलाकार।

– अनुवादः कुमार सिंखडा

नेपाल-जापान बारेमा हारुहितो नोजुको अन्तर्वार्ता

नेपालको बिकास किन भएन भनेर ‘कच‍‍-कच’ गरिरहने सबै नेपालीहरूले हेर्नै पर्ने हारुहितो नोजुसँगको अन्तर्वाता । वहाँको व्यक्तिगत भोगाइहरू र समग्रमा बिकास तथा नेपाल-जापानबिचको सोचाइबारेमा । शिक्षा, बिकास, आदि बारेमा एकदम सान्दर्भिक कुराहरू ।

करिब सबै कुरामा नोजुजीसँग सहमत ! विशेष गरी शिक्षा र त्यसमा पनि नैतिक शिक्षा अनि अनुशासनबारेको कुरा निकै मननीय छ ।

सामग्री तयार गरेकोमा समुद्रपारिलाई धेरै धन्यवाद !

बुद्धिसागरको फिरफिरे

(तस्वीर – बुद्धिसागरको ट्विटर पेजबाट)
बुद्धिसागरको बहुचर्चित फिरफिरे पढेपछि केही लेख्नै कर लाग्यो ।

  • John Grisham, Stephen King, Dan Brownहरूसँग तुलना चाहिँ नगरिहालौँ तर यस पुस्तकको स्तरीयता, ढाँचा, विषय, र बजार व्यवस्थापन हेर्दा नेपालमा पनि bestsellerहरूको संस्कार बन्दै गएको चाहिं पक्कै हो कि !
  • प्लट छनौट बुद्धिसागरले ‘बुद्धि’ पुर्याएर गरेछन् र त्यसमा समर्पण गरेछन् हृदय । कर्णाली ब्लुजको झल्को आउने परिवेश र त्यस्तै पात्र चयन गरेकोमा केही आलोचनाहरू यताउता पढिएको थियो । यद्यपि, जस्तो विषय/परिवेशमा लेख्ता सन्तुष्टि आउँछ लेखकले त्यही छान्छ र त्यो अधिकार उनीहरूलाई छोडिदिनुपर्छ । आलोचक/समालोचक/पाठकले मार्गदर्शनमा मात्र लेख्ने लेखक त कालन्तरमा औशतको बन्न जान्छ नि हैन र?
  • अधिकांश मोटा नेपाली किताबहरूमा वाक्क लाग्ने गरी दर्शन छाँटेको पाइन्छ, त्यो पनि क्लिस्ट भाषा र शैलीमा । फिरफिरेमा त्यो भेटिँदैन । बरू पुरै कथासार र त्यसमा भएका पात्रहरूको कथा आफैं दर्शन बोलिरहेको पाइन्छ ।
  • सरल शब्दहरूले मिठा वाक्यहरू । र वाक्य‍-वाक्यबीचको सम्बन्ध मिलाएर बनाइएका अनुच्छेदहरू । अनि अनुच्छेद-अनुच्छेद पनि जोडिएका। बुद्धिसागरको कौशलतालाई मान्नुपर्छ ।
  • कल्पनाशक्ति पनि कम छैन । जुठीआमैका कथाहरूमा ती विशेष गरी झल्केका छन् ।
  • लेख्दै जाँदा भावनात्मक (abstract) प्रसंगहरू पनि आउँदा कसैलाई वाक्क लाग्ला, कसैलाई अचम्म लाग्ला, कसैलाई हाँसो लाग्ला, कसैलाई मिठो लाग्ला ‍- लिने तरिका फरक फरक होलान् । उपन्यासमा किरा फट्याङ्ग्रा, रुख-पात, चराचुरुङ्गीका पनि भावना (feeling) प्रकट गरिएका पाइन्छन् । यसमा मुराकामी (र विशेष गरी ‘उमिबे नो काफुका’: Kafka on the Shore) को प्रभाव हो कि 🙂 नेपाली लेखनमा पनि यस्ता ‘झिना-मसिना’ मिठासहरू देखिँदै/थपिँदै जानु अवश्य पनि सकारात्मक हो ।
  • पात्र छनौट निकै सोचेर, बिचार गरेर मिलाएको देखिन्छ । प्रत्येक पात्र यथार्थपरक र सजीव देखिन्छन् । यद्यपि बन्तेको चाहिं कहीं पनि केही पनि गल्ती देखाइएको छैन । बन्तेलाई धेरै जसो ‘बबुरो’वाला भावमा पाइन्छ । अधिकांश उट्पट्याङ्हरू पवनले नै गरेको छ । यो उपन्यासको ‘कथावाचक’ बन्ते भएकोले ‘आफ्नो’ व्यक्तित्वमा धमिलो नथुपार्न जानी जानी त्यसो गरिएको हो या, यो प्रसंग नै गौण हो, उपन्यासकार आफैँ जानुन् 🙂
  • उपन्यासकार अलि अल्मलिएको पक्ष भनेकै घटनाहरू कसको आँखाबाट देखाउने भन्ने हो । कथा करीब ७० प्रतिशत जति बन्तेको आँखाबाट देखिन्छ (फ्ल्यासब्याकको भागको वर्णन तृतीय पुरुषमा भए पनि) भने बाँकी चाहिं कुनै पात्र विशेष नभई कुनै तटस्थ कोणबाट (सबैतिर देख्ने entity – जो लेखक स्वयं हुन्छ) । भलै अधिकांश पाठकले त्यसलाई ख्याल र मतलब नगर्लान् । अधिकांश भाग बन्तेको आँखाबाट देखिएको हुनाले पनि, माथि भनेझैं बन्तेले गरेका ‘सम्भावित गल्ती’हरू ‘छिपिएका’ होलान् ।

Happy reading!

About Interesting Books

From my Facebook status.

Thanks Basanta Gautam jee for nominating me. Whenever I think over the books that have impressed me most, these are some of the ones that come into my mind. Although I have come across tens of equally interesting reads and am yet to find hundreds of others. I hope this list will be a reference in case you are looking for interesting stuff to read.


  1. The Outsider – Albert Camus
  2. माधवी – मदनमणि दिक्षित
  3. ノルウェイの森-村上春樹(Norwagian Wood- Haruki Murakami)
  4. पागलबस्ती – Sarubhakta Shrestha
  5. भैरव अर्यालका हाँस्यव्यङ्ग्य – भैरव अर्याल
  6. श्वेतभैरवी – विश्वेश्वरप्रसाद कोइराला
  7. The Asian Mind Game – Ching-Ning Chu
  8. To Kill a Mockingbird – Harper Lee
  9. The God Delusion – Richard Dawkins
  10. In Our Time – Ernest Hemingway

On my to-read list are Long Walk to Freedom – Nelson Mandela, प्रयोगशाला – Sudhir Sharma, and The Plague – Albert Camus.

Next, I would like to nominate Alok Chalise, Binod Gurung,प्रदीप बराल, and Sushil Tamrakar. Happy reading!

NEA-JC Symposium मा प्रस्तुत गरेको कार्यपत्र

आज Nepal Engineers Association Japan Chapter (NEA-JC) ले चिबा प्रिफेक्चर (टोकियोको आसपास) एउटा सिम्पोजियम आयोजना गर्यो । Seventh NEA-JC symposium on Current and Future Technologies नाम गरिएको उक्त सिम्पोजियमका प्रमूख अतिथि जापानका लागि नेपाली राजदुत डा मदनकुमार भट्टराई हुनुहुन्थ्यो ।

कार्यक्रममा मैले नेपाली हिज्जे संशोधन सफ्टवेरको बारेमा कार्यपत्र प्रस्तुत गरेको थिएँ ।

कार्यक्रमको रुपरेखा : Click here

कार्यक्रममा प्रस्तुत गरेको मेरो स्लाइड हेर्न यता : Click here

मेरो कार्यपत्रको दुई पृष्ठको रिपोर्ट हेर्न यता : Click here

मेरो प्रेजेन्टेसनलाई सुनेर र रोचक प्रश्न तथा प्रतिकृया दिनुहुने सबै श्रोताहरूलाई धन्यवाद छ । र, कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने अवसर दिएकोमा NEA-JC प्रति पोहोर-परार झैं यस वर्ष पनि कृतज्ञ छु ।

अनेसास जापान निर्वाचन परिणाम

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको निर्वाचन प्रकृया समाप्त भएको छ । साथीहरूले निर्वाचन समितिको संयोजकको कार्यभार दिनुभएको थियो । वेदजी र अच्युतजीले समितिको सदस्यमा बसेर सहयोग गर्नुभयो ।

हिसाब गर्दा जापानको संस्थाहरूमा निर्वाचन समितिमा काम गरेको यो छैठौं पटक रहेछ । NESAJको निर्वाचन समितिको संयोजकको रुपमा ३ पटक काम गरियो । र NRNA जापानको समिति सदस्य भएर दुई पटक ।

नेसाजमा हुँदा आफैंले बिकास गरेको e-voting software पनि प्रयोग गरियो । यस पटकको अनेसास जापानको मतदानमा पनि e-voting प्रणाली नै अपनाउने योजना थियो । यस पटक वेदजीको । तर मतदान गर्नुपर्ने आवस्यकता परेन ।

निर्वाचित सबैलाई बधाइ तथा यो काम गर्न मौका दिने अनेसास कार्यसमितिलाई धन्यवाद । वेदजी र अच्युतजीलाई पनि धन्यवाद ।

नयाँ कार्यसमितिको विवरण यसप्रकार छ : INLSJP-ElectedOfficials20140125

इति ईश्वी संवत २०१४ साल जनवरी महिना २५ गते रोज ७ शुभम् ।

अनेसास जापान आठौं कार्यसमितिको निर्वाचनसम्बन्धी सूचना

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको आठौं कार्यसमितिको निर्वाचनको सम्बन्धमा सातौं कार्यसमितिका अध्यक्ष प्रकाश पौडेल माइलाबाट डिसम्बर २९, २०१३मा अनुरोध भए बमोजिम निर्वाचन प्रकृयासम्बन्धी जानकारी सार्वजनिक गरिएको छ ।

यसै विज्ञप्तिलाई आधार मानी इच्छुक उम्मेद्वार तथा सदस्यहरूलाई उम्मेद्वारी तथा मतदानको तयारी गर्न निर्देशन गरिन्छ ।

विस्तृत विवरणको लागि यस फाइलमा हेर्नुहोस् – INLS-JP-Election-2014-Guidelines_20140113

साधारण सदस्यको नामावाली अनेसास जापानको साधारण सदस्यको मेलिङ लिस्टमा पठाइएको छ ।

इति ईस्वी संवत २०१४ साल जनवरी महिना १३ गते रोज २ शुभम् ।

जीवनअर्थ

प्रसिद्ध अमेरिकी लेखक Mark Twainले भनेका छन् – मान्छेको जीवनका सबभन्दा महत्वपूर्ण घडी दुइटा हुन्छन् – पहिलो: जन्मेको क्षण र दोश्रो: आफू जन्मेको किन भनेर थाहा भएको क्षण ।

हामी किन जन्मियौँ ? कर्तव्य के हो ? सायद हामी जिन्दगीभर यसैको उत्तरको खोजी छौं । गहिरा उत्तरहरूको जिम्मा दार्शनिकहरूको लागि नै छोडेर, विषयप्रस्थान गरौं ।

आज एउटा सरल जापानी गीत सुन्दा नेपालीमा अनुवाद गर्न मन लाग्यो । गीतको बनौट हेर्दा नेपाली गीतहरूभन्दा त्यति पृथक नलाग्दा ।

सरल शब्दहरूमा धेरै गहिरो भाव पोखिएको पाइन्छ अक्सर जापानी गीतमा । नेपालकै परिपेक्षमा भन्नुपर्दा ‘चर्चित’ ‘गहिरा’ गीतहरू statementहरू बढ्ता मात्रामा पाइन्छ । गीतकारले श्रोतालाई अर्ती दिएको जस्तै लाग्ने । जस्तै, जीवन यस्तो हो उस्तो हो, माया भनेको यस्तो हो । त्यसो भनेर आलोचना गर्न खोजिएको भने हैन है !

प्रायशः जापानी गीतका शब्दहरू प्रथम पुरुषमा लेखिएको हुन्छ र आफ्नो अनुभव जस्तो गरेर प्रस्तुत गरिएको हुन्छ । जसले गर्दा गीतकारले विषयवस्तु शतप्रतिशत बुझेको जस्तो नगरी एकदम शुक्ष्म भावहरू पोखेर श्रोताबाट ‘सहमति’ लिन सक्छन् । सायद त्यसैलाई ‘गहिरो’ र ‘मन छुने’ भन्छन् क्यारे । अनि जापानीहरूको modesty (नम्रता) पनि झल्किन्छ ।

अरूको गीत उल्था गर्ने काम साह्रै गहारो कुरा हो । विशेष गरी भाव बिग्रन जाँदा ग्लानि हुन्छ । तर एक-अर्काको भाषामा शतप्रतिशत ठ्याक्कै उल्था गर्ने शब्दहरू हुँदैन । तलको उल्थालाई नेपालीमा सरसर्ती पढ्दा केही बिग्रेको, अन्य शब्द राख्ता ठिक होला जस्तो लाग्न सक्छ । तर गीतका भाव सकेसम्म बचाउने प्रयास गरेको छु ।

शीर्षक – जीवन अर्थ (इनोची नो वाके/रियु)
शब्द, स्वर, संगीत – मासासी किदा

मैले जन्म लिई आउनुको कारण
बाबा र आमासित भेट हुनको लागि
मैले जन्म लिई आउनुको कारण
भाइ-‍बहिनीहरूसित भेट हुनको लागि
मैले जन्म लिई आउनुको कारण
साथीभाइ सबैसित भेट हुनको लागि
मैले जन्म लिई आउनुको कारण
पियारो, तिमीसित भेट हुनको लागि

वसन्त आउँदा फूल आफैँ फुलेजस्तै
शरद आउँदा पात आफैँ खसेजस्तै
सुखी हुनको निमित्त हामी सबैले जन्म लिएका हौँ
दुखको फूलहरू झरेपछि हर्षको फलहरू फले जस्तै

मैले जन्म लिई आउनुको कारण
कतैको कसैको मन दुखाएर
मैले जन्म लिई आउनुको कारण
कतैको कसैदेखि मन दुखाएर
मैले जन्म लिई आउनुको कारण
कतैको कसैबाट उद्वार भएर
मैले जन्म लिई आउनुको कारण
कतैको कसैलाई उद्वार गर्नको लागि

रात पर्दा अन्धकार आफैँ निस्पट्ट भए जस्तै
बिहानी हुँदा किरण आफैं चम्किए जस्तै
सुखी हुनको निमित्त हामी सबै बाँचिरहेका छौँ
दुखको समुद्रपारिबाट हर्ष भरिएर आए जस्तै

मैले जन्म लिई आउनुको कारण
पियारो, तिमीसित भेट हुनको लागि
मैले जन्म लिई आउनुको कारण
पियारो, तिम्रो रक्षा गर्नको लागि



अविरल बगिरह्यो इन्द्रावती

गत एक हप्ताभरि इन्द्रावती अविरल बगिरह्यो ।

जागीर जाँदा-फर्किंदा खगेन्द्र नेपालीको आवाजमा सोभिते, भीमे, बुढो भुमा, लालगेडी, बुढा काजी, साना काजीमा केन्द्रित माझी गाउँको कहानी सुनियो ।

रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’ छुटाउनै नहुने उपन्यास रहेछ ।

पञ्चायत कालको परिवेशमा लेखिएको यो उपन्यासमा कहानी जीवन्त छ, र जीवन्त छन् यसका सबै पात्रहरू । कथा पढ्दै/सुन्दै जाँदा लाग्छ यो नेपालका चार हजार गाउँका प्रतिनिधि कहानी हो । जसमा कल्पना र नाटकीय दृश्य साह्रै न्यून छन् ।

गाउँमा निमुखा माझी-मझिनीहरू छन् । ती रोग, भोक, र अशिक्षामा पिल्सिएर गरीबीको पराकाष्टामा जीवन बिताइरहेछन् । त्यसको बिपरित बिलासी र निरंकुस गाउँका टाउकेहरू छन् जसको पहुँच केन्द्रसम्म छ । बिचमा अल्झिएका विवश मास्टर छन् जो माझीहरूलाई शिक्षाको ज्योति दिएर केही परिवर्तन गराउन चाहन्छन् । र यस्तै बिचमा छन् विपक्षी-टाउकेहरू जो गाउँको ‘सत्ता’ खोस्न चाहन्छन् ।

कथामा अविरल देखापर्छ इन्द्रावती नदी जो माझीहरूको लागि कुनै बेला जीवन दिने जननीको रुपमा देखा पर्छ भने कुनै बेला जीवीकोपार्जन गर्ने उपाय खोस्ने कठोर राक्षसको रुप लिन्छ । र प्रकृतिले पनि खडेरी र बर्षाको रुपमा घरीघरी निमुखाहरूको परिक्षा लिइरहन्छ ।

यिनै टाउके, चम्चा-टाउके, विपक्षी-टाउके, शोषित निमुखा, र इन्द्रावती नदीको बिचको सम्बन्ध सहजसँग सचित्रण भएको छ उपन्यासभरि । लाग्दछ, यो उपन्यास काठमाण्डौंको आरुबारीको घरभित्र नभई इन्द्रावती अगाडिको त्यही बस्तीमा बसेर लेखिएको हो ।

खगेन्द्र नेपालीको स्वरले यस उपन्यासलाई निकै न्याय दिएका छन्, अँझ भनुँ यसलाई साह्रै जीवन्त पारेका छन् । उनको स्वर त बीबीसीमा पनि सुनेकै हो । तर उपन्यासमा भने पत्रकारितामा नभेटिने एकतमासको न्यारेसन् भेटिन्छ ।

यो उपन्यासबाट एउटा सशक्त टेलिफिल्म बन्न सक्छ । र, उपन्यासकै दोश्रो भाग पनि लेख्न सकिन्छ जस्तो लाग्छ, किनकि कहानीको कुनै अन्त्य नभएर ‘अविरल’ बढ्ने किसिमको छ ।

पुस्तक लेखिएको तीस बर्षपछिको अहिलेको परिवेशमा पनि यसको कथा असान्दर्भिक लाग्दैन । फरक यति छ कि, तत्कालीन चम्चा-टाउकेहरू र विपक्षी-टाउकेहरू अहिले टाउके भएर निस्केका छन् । युग अनुसार जो चलेका छन् तिनले पञ्चबाट काँग्रेस, राप्रपा, कम्युनिस्ट, माओवादी आदिका रुपमा काँचुली फेर्दै टाउकेको ठाउँ लिएका छन् । तर जो पिल्सिएका थिए, ती त अँझै त्यहीं देखिन्छन् ।

अन्त्यमा, यस उपन्यासलाई Five Star दिंदै पढ्ने सुझाब दिन्छु । सामग्रीको लागि आलोकजीलाई धेरै धन्यवाद !\

WAVES etc र रमेश विकल साहित्य प्रतिष्ठानद्वारा निकालिएको 'अविरल बग्दछ इन्द्रावती'को अडियो पुस्तक
WAVES etc र रमेश विकल साहित्य प्रतिष्ठानद्वारा निकालिएको ‘अविरल बग्दछ इन्द्रावती’को अडियो पुस्तक

इति सम्वत २०७० साल मंसीर ३० गते रोज १ शुभम् ।