नेपाल-जापान बारेमा हारुहितो नोजुको अन्तर्वार्ता

नेपालको बिकास किन भएन भनेर ‘कच‍‍-कच’ गरिरहने सबै नेपालीहरूले हेर्नै पर्ने हारुहितो नोजुसँगको अन्तर्वाता । वहाँको व्यक्तिगत भोगाइहरू र समग्रमा बिकास तथा नेपाल-जापानबिचको सोचाइबारेमा । शिक्षा, बिकास, आदि बारेमा एकदम सान्दर्भिक कुराहरू ।

करिब सबै कुरामा नोजुजीसँग सहमत ! विशेष गरी शिक्षा र त्यसमा पनि नैतिक शिक्षा अनि अनुशासनबारेको कुरा निकै मननीय छ ।

सामग्री तयार गरेकोमा समुद्रपारिलाई धेरै धन्यवाद !

काम थरी थरीका

पच्चीस-तीस हाराहारीकी एउटी बहिनी, त्यस्तै पाँच फुट पाँच इन्चकी हुँदी हुन् । हेर्दा नेपाली जस्तै देखिने । मलाई नेपाली नै हुन् जस्तो लाग्यो, तर यकिन गरेर भन्न चाहिं सक्तिन । लन्डनको लागि औसतको मोटाइ भए पनि, नेपालीहरूको आँखामा अलि मोटी-मोटी नै लाग्ने । सफा टक्क कपाल, जसलाई उनीले सिनित्त पारी पछाडिपट्टि बाँधेर “पोनी-टेल”को आकार दिएकी थिइन् ।

हिजोको लन्डन, दिनभर मौसम सफा थियो । घामका किरणहरूले उनका देब्रे हातको साहिंली र माहिली औंलाका सुनका औंठीहरू टलक्क टल्किए । छेउमा एउटा ठुलै पोको झोला राखेको थिइन् ।

यहाँसम्म त सामान्य कुरा भयो । आश्चर्य त यहाँनेर छ – उनको दाहिने हातमा “म्याकडोनाल्ड”को कोका-कोला पिउने कप थियो; उनी फुटपाथमा बसेर त्यो कप देखाउँदै माग्न बसेकी थिइन् । मुहारमा दुखभावको छरछाँट बिल्कुलै थिएन ।

हाम्रो आँखा जुध्यो । म सरासर उनी भएको ठाउँ काटेर नजिकैका सपिङ सेन्टर पसेँ ।

दिउँसो हामी नजिकैको रेस्टुरेन्टमा खाना खाएर निस्कन लाग्दा ती बहिनी दाहिने काँधमा अघिकै झोला बोक्दै त्यही रेस्टुरेन्टमा पसिन् । नेपालका बसका कन्डकटरहरू जस्तै गरी उनका देब्रे हातका औंलाहरूले केही नोटहरू समातेका थिए । उनका हत्केलाभरि सिक्काहरू थिए । उनको चाल-ढाल हिंडाइ अरू ग्राहकभन्दा कत्ति पनि भिन्न थिएनन् ।

मैले यी बहिनीको चर्तिकलाबारे श्रीमतीलाई बताएँ । उनी हाँसिन् ।

आधा घन्टा जति पछि त्यही सडक पार गर्दा तिनीलाई फेरि देखियो । तर यस पटक भने उनी नजिकैको भित्ताको आड लगाएर मोबाइलमा गफ गर्दै थिइन् । अनुहार देख्ता लाग्थ्यो, उनी फोनको अर्कोपट्टिको मानिससित हल्का रिसाउँदै थिइन् ।

घर फर्किंदा हामीलाई पुन त्यही सडक पार गर्नुपर्ने भयो । उनी भने अघिकै कप ठड्याउँदै मागिरहेकी थिइन् । अघि जस्तै मुहारमा कुनै कष्टभाव र ग्लानिको छनक थिएन ।

तिनको वास्तविकता मलाई थाहा छैन र थाहा हुने कुरा पनि भएन । तर ती बहिनी र तिनको चर्तीकला देख्ता मलाई केही अनुहारहरूको याद आयो – काठमाण्डौंको सडकमा बच्चाहरू सहित बसेर माग्ने महिलाहरू, घर छोडेका (र निकालिएका) पशुपति वरपरि भेटिने वृद्धाहरू, सानैमा इटहरीमा देखेको मागेको पैसाले चुरोट किनेर खाइरहेको ८-९ वर्षे बालक, र यहीं लन्डनमा मेरो अफिस नजिकैको रेलस्टेसन अगाडि मागेर बस्ने चुस्स दाह्री भएको बुढा ।

अन्त्यमा मैले सम्झें जापानी टिभीमा देखेको एउटा परिवारबिहीन ६० वर्षीय । जो मोफसलको निगाता प्रान्तबाट कामको खोजीमा टोकियो झरेको थियो । उसको मासिक कमाइबाट कर कटाउँदा बेरोजगारभत्ताभन्दा कम हुन जान्थ्यो । स्थानीय वार्ड अफिसमा बुझ्दै गर्दा बेरोजगारहरूको लागि सहुलियत घरहरू उपलब्ध भएको थाहा पाउँदा त्यो “अफर” इन्कार गर्दै थियो, “जिबुन् नो मेसी वा जिबुन् दे !” (आफूले खाने भाग आफैं कमाउँछु)

जापानले थानकोट सुरुङमार्ग बनाउन सघाउने

आज बिहान बिहानै यो समाचार सुन्न पाउँदा निकै खुसी लाग्यो ।

काठमाण्डौंबाहिर बस्ने जो कोहीलाई थानकोटको उकालो र नौबिसेको ओरालो “नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार” भने जस्तो सामना नगरी धरै नपाइने अवरोध हो । यसको वैकल्पिक रुपमा सुरुङ बन्न सक्यो भने देश र जनतालाई फाइदै फाइदा छ ।

  • समय जोगिन्छ ।
  • दुर्घटनाहरू कम हुन्छन् ।
  • जामहरूको दुखबाट राहत हुन्छ ।
  • इन्धन खर्च कम लाग्छ । र सम्भवत यात्रा शुल्क पनि कम हुन्छ ।
  • ढुवानी खर्च कम लाग्ने हुनाले काठमाण्डौंबासीको लागि सामान सस्तो पर्न जाक्छ ।
  • बेनीघाटसम्म र त्यस आसपासका ठाउँहरू सुगम हुन्छन् । जसले गर्दा काठमाण्डौंको चाप कम हुन्छ ।
  • सुरुङप्रविधि भित्रिएपछि अन्य सुरुङहरूको पनि बहस बढ्नेछ ।
  • नेपाली इन्जिनियरहरूको लागि सिक्ने र शीपको सदुपयोग गर्ने सुवर्ण अवसर हुनेछ ।
  • धेरैलाई रोजगारी मिल्नेछ ।

जापानले नेपाल र नेपालीहरूलाई धेरै गुन लगाइसकेको छ । यदि यो प्रोजेक्ट सफल गर्यो बने नेपालीहरूले कहिल्यै नभुल्ने र भुल्न नसकिने गुन हुनेछ ।

समाचारको विस्तृत अंश:

जापानले थानकोट सुरुङमार्ग बनाउन सघाउने – कुबेर चालिसे

काठमाडौं : जापान सरकारले थानकोटमा सुरुङमार्ग बनाउन सघाउने भएको छ। नेपालका लागि जापानी राजदूत मासासी ओगावाले तीनकु नेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालयमा पत्रकारसँग कुरा गर्दै जापान सरकारले त्रिभुवन राजमार्गमा हालको अव्यवस्थतालाई सुरुङमार्गले सहज बनाउन मद्दत गर्ने विश्वास पनि व्यक्त गरे।
देशभित्र तथा बाहिरको सवारी आवागमनमा मात्र होइन अर्थतन्त्रको पनि मेरुदण्डको रूपमा रहेको त्रिभुवन राजमार्गको थानकोटखण्डको अस्तव्यस्थताले यात्रुले कष्ट उठाउनुपरेको छ। त्रिभुवन राजपथ काठमाडौंलाई बाँकी देशसँग जोड्ने सबैभन्दा सहज राजमार्ग हो। यो राजमार्गको प्रयोग गरेर दैनिक हजारौं यात्रु काठमाडौं आवतजावत मात्र गर्दैनन्, दैनिक उपभोग्य सामान एवं देशको महत्त्वपूर्ण व्यापारको ठूलो मात्रा यो राजमार्गबाटै भित्रिन्छ र बाहिरिन्छ।

‘जापान सरकार नेपाली जनताको सहज आवागमनको लागि थानकोटमा २.३ किलोमिटरको सुरुङमार्ग निर्माणमा सहयोग गर्न चाहन्छ’, उनले भने, ‘जापान सरकारसँग अत्याधुनिक प्र्रविधि भएकोले जापान प्रविधि हस्तान्तरण गर्न चाहन्छ।’

अघिल्लो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुल्सीप्रसाद सिटौलाको नेतृत्वमा नेपाली टोली सुरुङमार्गका लागि प्राविधिक र सैद्धान्तिक ज्ञान हासिल गर्न आठ सदस्यीय टोली जापान पनि गएको थियो। नेपाल सरकारले एक वर्षअगाडि नागढुंगा सडकखण्डमा सुरु ङमार्ग बनाउने विषयमा अध्ययन गरेको थियो। यसबाट २.३ किमि लामो सुरुङ नागढुंगाको इमाखेलदेखि नौबीसेको सिस्नेखोलासम्म बनाउने निर्णय भएको थियो।

यस आयोजनाले मूर्तरूप लिएमा नेपालको सुरुङमार्ग यातायात क्षेत्रमा ठूलो सहयोग पुग्ने र भविष्यमा पनि अन्य सुरुङमार्गको लागि बाटो खुल्नेछ।

यसैगरी, राजदूत ओगावाले जापानले नेपालको पूर्वाधारको विकासमा मद्दत गरिरहेको र अझ मद्दत गर्ने चाहना भएको पनि बताए। ‘बनेपा-बर्दिबास बीपी राजमार्ग आगामी मार्च महिनामा सम्पन्न हुने बताउँदै उनले यो राजमार्गले काठमाडौंदेखि तराईको दूरी मात्र छोट्ट्याएको होइन त्यसभेगका कृषकको कृषिजन्य उत्पादनले बजार पनि पाउने र उनीहरूको जीवनस्तरमा सुधार आउने पनि उनले बताए।

६ महिनाअघि मात्र नेपाल आएका राजदूत ओगावाले शान्तिपूर्ण दोस्रो संविधानसभाको चुनाउको माध्यमबाट नयाँ सरकार बनेको र नेपालमा समयमा नै संविधान आउनेमा विश्वस्त हुँदै धेरै जापानीहरू नेपालीको बारेमा अझै परिचित नभएको तर नेपाल आउन चाहेको पनि बताए। ‘जापानले नेपालको जनशक्तिको विकासमा पनि मद्दत गरिरहेको छ’, उनले भने, ‘तर जिट्कोमा केही समस्या आएको भए पनि राजदूतावासले त्यसलाई सहजीकरण गर्न मद्दत गर्ने कोसिस गर्नेछ।’

उक्त अवसरमा अन्नपूर्ण पोस्ट्को प्रकाशन संस्था थ्रीएनआईका अध्यक्ष रामेश्वर थापाले राजदूतलाई स्वागत गर्दै थ्रीएनआईले प्रजातन्त्र र अर्थतन्त्रको विकासमा जोड दिने बताए।


Src : Annapurna Post

जापानमा चौध वर्ष

अप्रिल ४, २०१४ । जापानमा पाइला टेकेको १४ वर्ष पुरा भएछ । यो ‘चौध वर्षे वनवास’ कस्तो भयो त ? फर्केर विश्लेषण गर्दा यसो देखियो ।

  • २०००-०१ – नयाँ देश, नयाँ भाषा, नयाँ जीवन । सबै थोक नयाँ । सिकाइको एक वर्ष ।
  • २००१-०२ – नयाँ ठाउँ, कलेज जीवनको शुरुवात । सिकाइको अर्को वर्ष ।
  • २००२-०३ – आफ्नो मेजर बिषयका आधारभूत ज्ञान शुरु गरेको एक वर्ष ।
  • २००३-०४ – जापानी भाषा र कलेज जीवन बानी परेर केही शान्त बनेको एक वर्ष ।
  • २००४-०५ – अनुसन्धानको निमित्त प्रयोगशाला (research lab) मा दिनहरू बितेको वर्ष । BEडिग्री हात परेको वर्ष ।
  • २००५-०६ – पेपरहरू लेखेर जाग्राम रातहरू कटेको वर्ष ।
  • २००६-०७ – पेपर प्रेजेन्ट गर्दै हिंडेको, दिनभरि YouTube हेरेको, NESAJको उथलपुथलमा सहभागी भएको, जागीर मिलेको वर्ष । MS degree हात परेको वर्ष ।
  • २००७-०८ – जागीरे जीवनको शुरुवात । सिक्दा-सिक्दै, बुझ्दा-बुझ्दै, नबुझ्दा‍-नबुझ्दै बितेको वर्ष ।
  • २००८-०९ – पहिलोपटक आफैंले प्रोजेक्टहरू गरेको । टेन्सन् र असफलताको सामना गर्दै, पढ्दै-पर्दै बढेको वर्ष ।
  • २००९-१० – सिनियरसँग मिलेर निकै असजिला र गाह्रा प्रोजेक्टहरू ‘सजिलै’ गर्दै जाने तरिका सिकेको वर्ष ।
  • २०१०-११ – ठुला, असजिला, गाह्रा प्रोजेक्ट आफैं गर्दै गरेको वर्ष ।
  • २०११-१२ – जुनियर र अन्यलाई सिकाउँदै आफैं पनि बढेको एक वर्ष ।
  • २०१२-१३ – सिकाउँदै, सिक्दै टिम अँझ सशक्त बनेको वर्ष ।
  • २०१३-१४ – नयाँ र झनै गहारो वातावरणको वावजुद सबैजना मिलेर प्रोजेक्ट फत्ते गरेको वर्ष । फर्केर हेर्दा सिनियर भइसकिएछ कि क्या हो ? जस्तो लागेको वर्ष ।

एक मुस्ठमा भन्नुपर्दा यो चौध वर्ष सिक्नु र सिकाउनुको चौध वर्ष रहे । र प्रत्येक वर्ष सन्तुष्टिका वर्ष रहे । प्रत्येक वर्ष नयाँ सिँढी चढेको जस्तो ।

यस्तो मौका दिने जापान सरकार र जापानी जनतालाई धन्यवाद नदिइरहन सकिन ।

अनेसास जापान निर्वाचन परिणाम

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको निर्वाचन प्रकृया समाप्त भएको छ । साथीहरूले निर्वाचन समितिको संयोजकको कार्यभार दिनुभएको थियो । वेदजी र अच्युतजीले समितिको सदस्यमा बसेर सहयोग गर्नुभयो ।

हिसाब गर्दा जापानको संस्थाहरूमा निर्वाचन समितिमा काम गरेको यो छैठौं पटक रहेछ । NESAJको निर्वाचन समितिको संयोजकको रुपमा ३ पटक काम गरियो । र NRNA जापानको समिति सदस्य भएर दुई पटक ।

नेसाजमा हुँदा आफैंले बिकास गरेको e-voting software पनि प्रयोग गरियो । यस पटकको अनेसास जापानको मतदानमा पनि e-voting प्रणाली नै अपनाउने योजना थियो । यस पटक वेदजीको । तर मतदान गर्नुपर्ने आवस्यकता परेन ।

निर्वाचित सबैलाई बधाइ तथा यो काम गर्न मौका दिने अनेसास कार्यसमितिलाई धन्यवाद । वेदजी र अच्युतजीलाई पनि धन्यवाद ।

नयाँ कार्यसमितिको विवरण यसप्रकार छ : INLSJP-ElectedOfficials20140125

इति ईश्वी संवत २०१४ साल जनवरी महिना २५ गते रोज ७ शुभम् ।

अनेसास जापान आठौं कार्यसमितिको निर्वाचनसम्बन्धी सूचना

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको आठौं कार्यसमितिको निर्वाचनको सम्बन्धमा सातौं कार्यसमितिका अध्यक्ष प्रकाश पौडेल माइलाबाट डिसम्बर २९, २०१३मा अनुरोध भए बमोजिम निर्वाचन प्रकृयासम्बन्धी जानकारी सार्वजनिक गरिएको छ ।

यसै विज्ञप्तिलाई आधार मानी इच्छुक उम्मेद्वार तथा सदस्यहरूलाई उम्मेद्वारी तथा मतदानको तयारी गर्न निर्देशन गरिन्छ ।

विस्तृत विवरणको लागि यस फाइलमा हेर्नुहोस् – INLS-JP-Election-2014-Guidelines_20140113

साधारण सदस्यको नामावाली अनेसास जापानको साधारण सदस्यको मेलिङ लिस्टमा पठाइएको छ ।

इति ईस्वी संवत २०१४ साल जनवरी महिना १३ गते रोज २ शुभम् ।

जीवनअर्थ

प्रसिद्ध अमेरिकी लेखक Mark Twainले भनेका छन् – मान्छेको जीवनका सबभन्दा महत्वपूर्ण घडी दुइटा हुन्छन् – पहिलो: जन्मेको क्षण र दोश्रो: आफू जन्मेको किन भनेर थाहा भएको क्षण ।

हामी किन जन्मियौँ ? कर्तव्य के हो ? सायद हामी जिन्दगीभर यसैको उत्तरको खोजी छौं । गहिरा उत्तरहरूको जिम्मा दार्शनिकहरूको लागि नै छोडेर, विषयप्रस्थान गरौं ।

आज एउटा सरल जापानी गीत सुन्दा नेपालीमा अनुवाद गर्न मन लाग्यो । गीतको बनौट हेर्दा नेपाली गीतहरूभन्दा त्यति पृथक नलाग्दा ।

सरल शब्दहरूमा धेरै गहिरो भाव पोखिएको पाइन्छ अक्सर जापानी गीतमा । नेपालकै परिपेक्षमा भन्नुपर्दा ‘चर्चित’ ‘गहिरा’ गीतहरू statementहरू बढ्ता मात्रामा पाइन्छ । गीतकारले श्रोतालाई अर्ती दिएको जस्तै लाग्ने । जस्तै, जीवन यस्तो हो उस्तो हो, माया भनेको यस्तो हो । त्यसो भनेर आलोचना गर्न खोजिएको भने हैन है !

प्रायशः जापानी गीतका शब्दहरू प्रथम पुरुषमा लेखिएको हुन्छ र आफ्नो अनुभव जस्तो गरेर प्रस्तुत गरिएको हुन्छ । जसले गर्दा गीतकारले विषयवस्तु शतप्रतिशत बुझेको जस्तो नगरी एकदम शुक्ष्म भावहरू पोखेर श्रोताबाट ‘सहमति’ लिन सक्छन् । सायद त्यसैलाई ‘गहिरो’ र ‘मन छुने’ भन्छन् क्यारे । अनि जापानीहरूको modesty (नम्रता) पनि झल्किन्छ ।

अरूको गीत उल्था गर्ने काम साह्रै गहारो कुरा हो । विशेष गरी भाव बिग्रन जाँदा ग्लानि हुन्छ । तर एक-अर्काको भाषामा शतप्रतिशत ठ्याक्कै उल्था गर्ने शब्दहरू हुँदैन । तलको उल्थालाई नेपालीमा सरसर्ती पढ्दा केही बिग्रेको, अन्य शब्द राख्ता ठिक होला जस्तो लाग्न सक्छ । तर गीतका भाव सकेसम्म बचाउने प्रयास गरेको छु ।

शीर्षक – जीवन अर्थ (इनोची नो वाके/रियु)
शब्द, स्वर, संगीत – मासासी किदा

मैले जन्म लिई आउनुको कारण
बाबा र आमासित भेट हुनको लागि
मैले जन्म लिई आउनुको कारण
भाइ-‍बहिनीहरूसित भेट हुनको लागि
मैले जन्म लिई आउनुको कारण
साथीभाइ सबैसित भेट हुनको लागि
मैले जन्म लिई आउनुको कारण
पियारो, तिमीसित भेट हुनको लागि

वसन्त आउँदा फूल आफैँ फुलेजस्तै
शरद आउँदा पात आफैँ खसेजस्तै
सुखी हुनको निमित्त हामी सबैले जन्म लिएका हौँ
दुखको फूलहरू झरेपछि हर्षको फलहरू फले जस्तै

मैले जन्म लिई आउनुको कारण
कतैको कसैको मन दुखाएर
मैले जन्म लिई आउनुको कारण
कतैको कसैदेखि मन दुखाएर
मैले जन्म लिई आउनुको कारण
कतैको कसैबाट उद्वार भएर
मैले जन्म लिई आउनुको कारण
कतैको कसैलाई उद्वार गर्नको लागि

रात पर्दा अन्धकार आफैँ निस्पट्ट भए जस्तै
बिहानी हुँदा किरण आफैं चम्किए जस्तै
सुखी हुनको निमित्त हामी सबै बाँचिरहेका छौँ
दुखको समुद्रपारिबाट हर्ष भरिएर आए जस्तै

मैले जन्म लिई आउनुको कारण
पियारो, तिमीसित भेट हुनको लागि
मैले जन्म लिई आउनुको कारण
पियारो, तिम्रो रक्षा गर्नको लागि