HeNN अक्षयकोषको निमित्त संकलित रकमको विवरण

Help Nepal Network (HeNN) को १० करोड अक्षयकोषको लागि आज अगस्ट २५, २०१२सम्म १,१६,५००  जापानी-येन जम्मा भएको कुरा यसै ब्लगमार्फत सार्वजनिक गर्न चाहन्छु । रकम HeNN को सल्लाहमा र मेरो आफ्नै समय-अनुकुल ध्यानमा राखेर PayPal अथवा सिधै बैँकमा ट्रान्सफर गरिनेछ । ट्रान्सफरपश्चात यही ब्लगमार्फत सो कुराको जानकारी दिनेछु ।

रकम संकलन करीब एक महिना अगाडि जापानमा रहेका केही मित्रहरूलाई ईमेलमार्फत सोझै सम्पर्क गरी सुरुवात थिएँ । साथीहरूबाट ईमेल र फोनमार्फत राम्रा प्रतिकृया आए ।

संकलनको कुरा अगस्ट ११ मा यही ब्लगमार्फत सार्वजनिक पनि गरियो । रवीन्द्र मिश्रज्यूले ट्विटर र फेसबुकमार्फत त्यो लिंकलाई सेयर गरिदिनुभएपछि अरू केही सकारात्मक प्रतिकृया आए ।

अहिलेसम्म चन्दा सहयोग गर्नेहरू चाहिँ व्यक्तिगत रुपमा नजिकका साथीहरू नै छन् । सायद यहाँ ‘विश्वास’को कुरा छ । हालसम्मको प्राप्त रकम HeNNलाई हस्तान्तरण गरिसकेपछि, अर्को चरणहरूमा अरूहरूबाट पनि सम्पर्क होला नै, हेर्दै जाऊँ ।

अहिलेसम्म जापानबाट प्राप्त रकम हेर्न यता जानुहोस् । (Updated Sep 1, 2012)

यस बाहेक कपिलदेव थापाले छुट्टै रू एक लाख यस कोषलाई पहिले नै प्रदान गरिसक्नुभएको रहेछ । हिजो वहाँसँग यस विषयमा कुराकानी भएको थियो । जापानवासी भएको नाताले यो वहाँको नाम यहाँ उल्लेख गरेको छु ।

हुन त अन्य मित्रहरूले पनि सहयोगको ईच्छा देखाउनुभएको छ । त्यसमध्ये कोहीले त नेपालमा हुँदादेखि र त्यसपछि जापानबाट पनि HeNNलाई सहयोग गर्नुभएको रहेछ । कति भनेर किटान नगरिसक्नुभएको अवस्थामा वहाँहरूको नाम सार्वजनिक गरिसकिएको छैन । अर्को चरणमा संलग्न गर्ने कोशिष गरिने छ ।

के तपाईँ जापानमा बस्नुहुन्छ ? र यस अक्षयकोषलाई सहयोग गर्न चाहनुहुन्छ ? ईच्छुक मित्रहरूले kumarsimkhada [at] gmail.com मा सिधै मलाई पत्राचार गर्नुहोस् । वा टेलिफोन ०४८-२८०-६१८५मा सम्पर्क गर्नुहोस् ।

Related
Appeal for Rs 100m Charitable Endowment Fund
HeNN’s Rabindra Mishra’s Facebook Page


हेल्प नेपाल नेटवर्क र १० करोडको अक्षयकोष

हेल्प नेपाल नेटवर्क (Help Nepal Network : HeNN)का अग्रता रवीन्द्र मिश्रको अग्रसरतामा शुरु भएको १० करोड अक्षय कोषसम्बन्धी विस्तृत जानकारीको लागि HeNN को आधिकारिक पृष्ठमा वा रवीन्द्र मिश्रको फेसबुक पेजमा पढ्न सकिन्छ ।

HeNNको गतिबिधि बिगत केही वर्ष अगाडिदेखि नियाल्दै आएको छु । यो संस्थामा आवद्ध व्यक्तित्वहरू, यसका उद्देश्यहरू, र यसका अहिलेसम्मका गतिबिधिहरू हेर्दा यसलाई विश्वास गर्ने प्रसस्त ठाउँ देखिन्छ । विश्वासयोग्य व्यक्ति र संस्थाहरूको खडेरी परेको हाम्रो मुलुकको लागि रवीन्द्र मिश्र र यो संस्था मदनकृष्ण-हरिवंश र माइती-नेपालसँग दाँज्न सकिएला ।

हुन त च्यारिटीबाट देश कहिल्यै बन्न सक्तैन । यो सत्य हो । देश बनाउन त देशका जनशक्तिको थोपा-थोपा पसिनाहरू जम्मा हुनुपर्छ । कम्पनी-व्यवसायहरू खोल्नुपर्छ, रोजगार बढाउनुपर्छ, कलकारखाना बढाउनु पर्छ । तर हामीकहाँ सरकारले आफ्नै हेरचाह गर्न नसकेको अवस्थामा यो देशलाई परोपकारको आवश्यकता छ । र औसत नेपाली दाजुभाइ-दिदीबहिनीभन्दा ‘खान पुगेका दिन पुगेका’ हामी प्रवासी नेपालीहरूले त झन ठुलो भूमिका खेल्न सक्छौँ नै !

यो अक्षयकोषको निमित्त जापानका नेपाली साथीहरूबाट चन्दा संकलन भइरहेछ । यदि यसमा सरिक हुन चाहनुहुन्छ भने, मलाई सम्पर्क गर्नुहोला । विस्तृत विवरण सिधै पठाउने छु । करीब दुई सातापछि संकलन भएको रकम हस्तान्तरण गर्ने योजना छ ।

आज अगस्ट ११सम्ममा १२ जनाबाट ७९,५०० येन जम्मा भइसकेको छ ।

Update
Aug 11, 2012 : 79,500 Yens (including commitments) received from 12 people.
Aug 17, 2012 : 104,500 Yens (including commitments) received from 17 people.
Aug 25, 2012 : 116,500 Yens received from 17 people.
Sep 1, 2012  : 132,500 Yens received from 22 people.