
- John Grisham, Stephen King, Dan Brownहरूसँग तुलना चाहिँ नगरिहालौँ तर यस पुस्तकको स्तरीयता, ढाँचा, विषय, र बजार व्यवस्थापन हेर्दा नेपालमा पनि bestsellerहरूको संस्कार बन्दै गएको चाहिं पक्कै हो कि !
- प्लट छनौट बुद्धिसागरले ‘बुद्धि’ पुर्याएर गरेछन् र त्यसमा समर्पण गरेछन् हृदय । कर्णाली ब्लुजको झल्को आउने परिवेश र त्यस्तै पात्र चयन गरेकोमा केही आलोचनाहरू यताउता पढिएको थियो । यद्यपि, जस्तो विषय/परिवेशमा लेख्ता सन्तुष्टि आउँछ लेखकले त्यही छान्छ र त्यो अधिकार उनीहरूलाई छोडिदिनुपर्छ । आलोचक/समालोचक/पाठकले मार्गदर्शनमा मात्र लेख्ने लेखक त कालन्तरमा औशतको बन्न जान्छ नि हैन र?
- अधिकांश मोटा नेपाली किताबहरूमा वाक्क लाग्ने गरी दर्शन छाँटेको पाइन्छ, त्यो पनि क्लिस्ट भाषा र शैलीमा । फिरफिरेमा त्यो भेटिँदैन । बरू पुरै कथासार र त्यसमा भएका पात्रहरूको कथा आफैं दर्शन बोलिरहेको पाइन्छ ।
- सरल शब्दहरूले मिठा वाक्यहरू । र वाक्य-वाक्यबीचको सम्बन्ध मिलाएर बनाइएका अनुच्छेदहरू । अनि अनुच्छेद-अनुच्छेद पनि जोडिएका। बुद्धिसागरको कौशलतालाई मान्नुपर्छ ।
- कल्पनाशक्ति पनि कम छैन । जुठीआमैका कथाहरूमा ती विशेष गरी झल्केका छन् ।
- लेख्दै जाँदा भावनात्मक (abstract) प्रसंगहरू पनि आउँदा कसैलाई वाक्क लाग्ला, कसैलाई अचम्म लाग्ला, कसैलाई हाँसो लाग्ला, कसैलाई मिठो लाग्ला - लिने तरिका फरक फरक होलान् । उपन्यासमा किरा फट्याङ्ग्रा, रुख-पात, चराचुरुङ्गीका पनि भावना (feeling) प्रकट गरिएका पाइन्छन् । यसमा मुराकामी (र विशेष गरी ‘उमिबे नो काफुका’: Kafka on the Shore) को प्रभाव हो कि 🙂 नेपाली लेखनमा पनि यस्ता ‘झिना-मसिना’ मिठासहरू देखिँदै/थपिँदै जानु अवश्य पनि सकारात्मक हो ।
- पात्र छनौट निकै सोचेर, बिचार गरेर मिलाएको देखिन्छ । प्रत्येक पात्र यथार्थपरक र सजीव देखिन्छन् । यद्यपि बन्तेको चाहिं कहीं पनि केही पनि गल्ती देखाइएको छैन । बन्तेलाई धेरै जसो ‘बबुरो’वाला भावमा पाइन्छ । अधिकांश उट्पट्याङ्हरू पवनले नै गरेको छ । यो उपन्यासको ‘कथावाचक’ बन्ते भएकोले ‘आफ्नो’ व्यक्तित्वमा धमिलो नथुपार्न जानी जानी त्यसो गरिएको हो या, यो प्रसंग नै गौण हो, उपन्यासकार आफैँ जानुन् 🙂
- उपन्यासकार अलि अल्मलिएको पक्ष भनेकै घटनाहरू कसको आँखाबाट देखाउने भन्ने हो । कथा करीब ७० प्रतिशत जति बन्तेको आँखाबाट देखिन्छ (फ्ल्यासब्याकको भागको वर्णन तृतीय पुरुषमा भए पनि) भने बाँकी चाहिं कुनै पात्र विशेष नभई कुनै तटस्थ कोणबाट (सबैतिर देख्ने entity – जो लेखक स्वयं हुन्छ) । भलै अधिकांश पाठकले त्यसलाई ख्याल र मतलब नगर्लान् । अधिकांश भाग बन्तेको आँखाबाट देखिएको हुनाले पनि, माथि भनेझैं बन्तेले गरेका ‘सम्भावित गल्ती’हरू ‘छिपिएका’ होलान् ।
Happy reading!