पुलिस ‘हिरो’ कि ‘गुन्डा’ ?

हामी अधिकांश नेपालीहरूलाई सानो छँदा ‘पुलिस’ शब्द सुन्नेबित्तिकै भय उत्पन्न हुन्छ । झन प्रतक्ष देख्ता त झनै मनै ढक्क फुलेर आउने । र, त्यो मानसिक दर्दलाई कम गर्दै ‘सामान्य’ हुनको लागि वर्षौं लाग्दो रहेछ ।

बच्चलाई सम्झाउन, तह लगाउन झगडा गर्दा ‘पुलिस’ भन्ने ‘राक्षसी जन्तु’ आउने घुर्की सुनाएर हाम्रा अभिभावकले क्षणिकरूपमा बच्चाहरूलाई ‘तह’ त लगाउछन् नै, तर त्यो त्रासले ती अबोध बाल-बालिकहरूलाई वर्षौंसम्म गाँजिरहन्छ ।

विदेशमा नर्सरीदेखि प्राथमिक तहसम्मका बच्चाहरूलाई वर्षमा एक दिन नजिकैको प्रहरी चौकीमा लगेर “सुरक्षा गरिदिएबापत धन्यवाद” जस्ता सन्देश लेखी प्रहरीलाई बुझाउन लगाइन्छ । यसले उनीहरूको प्रहरीप्रतिको सोच सकारात्मक रहन सहयोग गर्दछ । र तिनैमध्ये कति प्रहरी बनेर समाजको सुरक्षा दिने सपना देख्न थाल्छन् ।

गत हप्ता नेपाल प्रहरीको फेसबुक पेजमा यस विषयमा लेखिएको यो सन्देश साह्रै समयसापेक्ष छ । अभिभावकहरू आफ्नो बच्चाको सुन्दर भविष्य देख्न चाहन्छन् भने यसलाई मनन गर्नु जरूरी छ ।

काम थरी थरीका

पच्चीस-तीस हाराहारीकी एउटी बहिनी, त्यस्तै पाँच फुट पाँच इन्चकी हुँदी हुन् । हेर्दा नेपाली जस्तै देखिने । मलाई नेपाली नै हुन् जस्तो लाग्यो, तर यकिन गरेर भन्न चाहिं सक्तिन । लन्डनको लागि औसतको मोटाइ भए पनि, नेपालीहरूको आँखामा अलि मोटी-मोटी नै लाग्ने । सफा टक्क कपाल, जसलाई उनीले सिनित्त पारी पछाडिपट्टि बाँधेर “पोनी-टेल”को आकार दिएकी थिइन् ।

हिजोको लन्डन, दिनभर मौसम सफा थियो । घामका किरणहरूले उनका देब्रे हातको साहिंली र माहिली औंलाका सुनका औंठीहरू टलक्क टल्किए । छेउमा एउटा ठुलै पोको झोला राखेको थिइन् ।

यहाँसम्म त सामान्य कुरा भयो । आश्चर्य त यहाँनेर छ – उनको दाहिने हातमा “म्याकडोनाल्ड”को कोका-कोला पिउने कप थियो; उनी फुटपाथमा बसेर त्यो कप देखाउँदै माग्न बसेकी थिइन् । मुहारमा दुखभावको छरछाँट बिल्कुलै थिएन ।

हाम्रो आँखा जुध्यो । म सरासर उनी भएको ठाउँ काटेर नजिकैका सपिङ सेन्टर पसेँ ।

दिउँसो हामी नजिकैको रेस्टुरेन्टमा खाना खाएर निस्कन लाग्दा ती बहिनी दाहिने काँधमा अघिकै झोला बोक्दै त्यही रेस्टुरेन्टमा पसिन् । नेपालका बसका कन्डकटरहरू जस्तै गरी उनका देब्रे हातका औंलाहरूले केही नोटहरू समातेका थिए । उनका हत्केलाभरि सिक्काहरू थिए । उनको चाल-ढाल हिंडाइ अरू ग्राहकभन्दा कत्ति पनि भिन्न थिएनन् ।

मैले यी बहिनीको चर्तिकलाबारे श्रीमतीलाई बताएँ । उनी हाँसिन् ।

आधा घन्टा जति पछि त्यही सडक पार गर्दा तिनीलाई फेरि देखियो । तर यस पटक भने उनी नजिकैको भित्ताको आड लगाएर मोबाइलमा गफ गर्दै थिइन् । अनुहार देख्ता लाग्थ्यो, उनी फोनको अर्कोपट्टिको मानिससित हल्का रिसाउँदै थिइन् ।

घर फर्किंदा हामीलाई पुन त्यही सडक पार गर्नुपर्ने भयो । उनी भने अघिकै कप ठड्याउँदै मागिरहेकी थिइन् । अघि जस्तै मुहारमा कुनै कष्टभाव र ग्लानिको छनक थिएन ।

तिनको वास्तविकता मलाई थाहा छैन र थाहा हुने कुरा पनि भएन । तर ती बहिनी र तिनको चर्तीकला देख्ता मलाई केही अनुहारहरूको याद आयो – काठमाण्डौंको सडकमा बच्चाहरू सहित बसेर माग्ने महिलाहरू, घर छोडेका (र निकालिएका) पशुपति वरपरि भेटिने वृद्धाहरू, सानैमा इटहरीमा देखेको मागेको पैसाले चुरोट किनेर खाइरहेको ८-९ वर्षे बालक, र यहीं लन्डनमा मेरो अफिस नजिकैको रेलस्टेसन अगाडि मागेर बस्ने चुस्स दाह्री भएको बुढा ।

अन्त्यमा मैले सम्झें जापानी टिभीमा देखेको एउटा परिवारबिहीन ६० वर्षीय । जो मोफसलको निगाता प्रान्तबाट कामको खोजीमा टोकियो झरेको थियो । उसको मासिक कमाइबाट कर कटाउँदा बेरोजगारभत्ताभन्दा कम हुन जान्थ्यो । स्थानीय वार्ड अफिसमा बुझ्दै गर्दा बेरोजगारहरूको लागि सहुलियत घरहरू उपलब्ध भएको थाहा पाउँदा त्यो “अफर” इन्कार गर्दै थियो, “जिबुन् नो मेसी वा जिबुन् दे !” (आफूले खाने भाग आफैं कमाउँछु)