बाँचेका मान्छेहरू

बीबीसी साझा सवालको ४२८ औं अंक अविस्मरणीय रहनेछ ।

भूकम्पमाथि विजय गरेर सामान्य जीवनमा फर्कन संघर्षरत सिन्धुपाल्चोकको एउटा सानो गाउँलाई चित्रण गरिएको यस कार्यक्रम मार्मिक र सान्दर्भिक त यसै छ, व्यक्तिगत रुपमा झड्का दिने किसिमको पनि रहेछ ।

सम्झेर ल्याउँदा …

म यस्तै पाँच-सात वर्षको हुँदाखेरि प्रत्येक विहान एउटै परिचित दृश्य दोहोरिरहेको सम्झना छ । म हाम्रो पहाडको घरको दलानमा सुत्थेँ । ब्यूँझिएपछि खाटबाटै पूर्वपट्टि हेर्ने दिनचर्या हुने गर्थ्यो । घरदेखि तल खोलासम्म कुहिरोले ढम्म ढाक्थ्यो । चिसो स्याँठले सिधै ठोक्ने हुनाले ओछ्यानमा पलेटी कसेर बसे पनि पुरै शरीरलाई सिरक गम्लङ्ग ढाक्नु पर्ने बाध्यता थियो । क्षितिजबाट कुहिरो र दुई डाँडाको बिचको भागलाई छिचोल्दै मध्ये आकाशतिर सूर्य बढेको रोमाञ्चक दृश्य देखिन्थ्यो । त्यसपछाडि दैनिकी शुरु हुन्थ्यो ।

गाउँ-पाखा, डाँडा-काँडा, टाढाको पँधेरो, हिलो माटो, भीरको बाटो, खाली खुट्टाले हिंड्ने बच्चाहरू, लुगलुग काम्दै हिंड्ने मानिसहरू, जाडोमा पनि कट्टुको सहारामा रहनुपर्ने बाध्यता, १४-१५ वर्षैमा बिहे हुने चलन, कोदाको ढिंडो, बिरामी परेर सुतिरहेका बुढा-बुढीहरू । यी सबै कुरा अधिकांश पहाडी भेगका गाउँका बस्तीहरूको कथा हुन् । र आफ्नै गाउँमा पनि त्यो सामान्य थियो । र यिनै रहन-सहनका दृश्यहरूबीचमा अर्को दिन बित्थ्यो । यस्तै जीवनशैलीमा अभ्यस्त हामीलाई योभन्दा माथि उठेर सोच्ने क्षमता नै थिएन : एक त सानो उमेर, अर्को सबैको उस्तै जीवनशैली ।

अहिले फ्ल्यासब्याकमा हेर्दा : त्यसपछाडि बसाइँ सरियो, शहरमा पढियो, बिदेश भासियो । यसबिचका अवसर अनि परिश्रम आ-आफ्नै ठाउँमा छन्, तर जिन्दगीमा धेरै उथलपुथल आइसकेको छ ।

‘हाम्रो गाउँका मान्छेहरूको दुख कहिलेदेखि सकिएला ? यहाँभन्दा शहरको जीवन निकै उच्च हुन्छ रे । सानैमा बिहे गर्न मन छैन । पढेर यही गाउँको लागि केही गर्न सकिन्छ ।’

बीबीसी साझा सवालको ४२८ का नायक-नायिका पात्रहरूले यस्ता कुराहरू गरिरहँदा तिनै जीवन देखियो : गाउँ-पाखा भीरहरू, रमणीय सूर्योदय, चिसा कठ्याङ्ग्रिला रातहरू, कपडा नपुगेका बालक-बालिकाहरू, बालविवाहको पहल, बिरामीहरू, आदि । र उनीहरूका प्रत्येक शब्दले स्मृतिस्पटलमा राम्रै झड्का दिए ।

यद्यपि केही दशक अगाडि मैले भोगेको यस्तै प्रतिनिधि समाज र सिन्धुपाल्चोकको अहिलेको बस्तीमा एउटा ठुलो फरक चाहिं देखियो : त्यो हो चेतना । दुखलाई दुख भन्न सक्नेहरू, नपुगेको कुरा पुगेन भन्न सक्ने विद्यार्थीहरू, र विशेष गरी उजेली जस्ताका बीचमा गुम्सेका उकुसमुकुसहरू बाहिर निकाल्न सक्ने साहस । अलिकति मौका पाउने हो भने सम्भावना प्रचुर छ ।

भूइँचालोमाथि विजय गर्नु त अवश्य छ नै ।

PS: सम्पादक दिपक भट्टराईजीलाई स्याSSSSSSSनो सुझाब : कार्यक्रमको अन्त्यको तीस सेकेन्डको भाग (जहाँ टिम विवरण, क्रेडिट, आदि दिइन्छ), त्यो बेलामा दुई-तीन मिनेट अघिमात्रै स्कूले छात्राले गाएको गीत राखेको भए अँझै कलात्मक हुने थियो । एक्सपेरिमेन्ट गरेर हेर्नुहुन्थ्यो कि 🙂